पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यास किन्दा नेपालको बार्षिक साढे २ खर्ब रुपियाँ देशबाहिर गइरहेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगम सधै घाटाको हिसाब देखाएर जनताको कर दोहन गरिरहेको छ । रुस –युक्रेन युद्धको कारण अन्तराष्ट्रिय रुपमा इन्धनको भाउ बढिरहेको छ र युद्ध समाप्तिपछि पनि इन्धनको मूल्य सजिलो हुन समय लाग्नेछ । पोस्ट वार इफेक्ट केहि बर्ष रहन्छ नै ।
देशको संचिति मुद्रा इन्धन खरिदमा सकिने अवस्था नआउला भन्न सकिदैन । सरकारले पेट्रोलियम इन्धनको बिकल्प सोंच्ने बेला उहिल्यै थियो ।  जनताको चुल्हो नबल्ने र इन्धन किन्न नसक्ने अवस्था रोक्न सरकारले इन्धन खपत र बैकल्पिक नीति तत्काल अबलम्बन गर्नुपर्दछ ।

१. इन्धन भण्डारण गर्ने ठूलो क्षमताका डिपो सातै प्रदेशमा निर्माण गर्ने ।

२. सरकारी, सामुदायिक तथा निजी लार्यालय तथा शिक्षणसंस्था हप्ताको २ दिन बिदा गर्ने ।

३. सरकारी तथा सामुदायिक बाहनमा सिटको क्षमता अनुसार कर्मचारी ओसारपसार गर्ने। कार्यालयमा बढी सिट क्षमताका इलेक्ट्रिक बस चलाउने । नयाँ गाडी किन्दा अनिबार्य विद्युतीय गाडी किन्ने ।

४.आफ्नो क्षेत्रमा मात्र स्कुलमा पढ्नुपर्ने ब्यबस्था मिलाउने ।

५.स्कुल, कलेज र अफिस जाने र फर्किने समय फरकफरक बनाएर ट्राफिक जाम कम गराउने ।

६ सडकका खाल्डा पुर्ने र सडक सधै अपडेट राख्ने।

७.सस्तो मूल्यका विद्युतीय स्कुटी, बाइक, कार तथा बस चलाउन प्रोत्साहित गर्ने । यसको लागि किन्दा कर छुट, नवीकरणमा छुट तथा बैंक लोनमा अतिरिक्त सहुलियतको ब्यबस्था गर्ने ।

८.सार्वजनिक साधन विद्युतीय मात्र प्रयोग गर्ने ।

९.साइकल लेन बढी सुरक्षित रुपमा विस्तार गर्ने ।

१०.पहिलो हप्ताको १ दिन पेट्रोल होलिडे, अर्को हप्ताको १ दिन डिजेल होलिडे नियमित रुपमा घोषणा गरेर विद्युतीय साधनप्रति आबश्यकता महशुष गराउने ।

११. पेट्रोल तथा डिजेलको भाउ धेरै बढेमा निजी साधनलाई जोरबिजोर रुपमा चलाउने ।

१२. आम नागरिकलाई नजिकको गन्तब्यमा पैदल हिड्न प्रोत्साहित गर्ने । यसको लागि धुलो, धुँवा नियन्त्रण गर्ने । सडकका किनारामा वृक्षारोपण गर्ने ।

१३. साना र धेरै सवारीसाधन हटाउन द्रुतगतिका विद्युतीय सार्वजनिक साधन चलाउने ।

१४.मापसे चेक गरेझैं धुँवा फ्याँक्ने सवारीसाधनलाई अन द स्पोट जरिवाना गर्ने र मर्मतको लागि पठाउने । निश्चित अबधिमा सर्भिसिंग गरेको तथा मोबिल फेरेको लग अनिबार्य रुपमा राख्नुपर्ने ।

१५.पुराना सवारीसाधन बिस्थापित गर्ने ।

१६. केहिबर्ष पेट्रोलियम सवारीसाधन आयातमा रोक लगाउने ।

१७.सोलार इनर्जीको प्रयोग बढाउने ।

१८. निजी क्षेत्रलाई समेत इन्धन ल्याउने अनुमति दिने र स्वचालित दर कायम गर्ने ।

१९.इलेक्ट्रिक भाँडा जस्तै केट्ली, स्टोभ, इन्डक्सन चुल्हो आदिको प्रयोग बढाउने । यसको लागि विद्युतीय सामग्रीमा कर छुट, निश्चित युनिटसम्म बिद्युत छुट लगायतको ब्यबस्था गर्ने ।

२०. गाउँमा प्रदुषणरहित काठदाउरा तथा बायोग्यासको प्रयोग बढाउने ।