भेडेटारः घाम डाडाँमाथि पुग्दैगर्दा हामी धरानबाट उकालो लाग्दै थियौँ । यता उता बिरालीको लहरा झैँ घुमेको सडक सवारीको चाप उत्तिकै थियो । भेडेटारले नवौँ फुड फेस्टिवलको वाहाना बनाएर पर्यटकलाई तान्ने कोशिस गर्दै गर्दा हामी त्यहि चिसो डाडाँलाई चुम्ने तरखरमा थियौँ । साँझ छिप्पिँदै गएकाले दायाँ बाँयामा झिलिमिलि बत्तीले बाटोलाई उज्यालो बनाएको थियो ।

तीन पाँग्रेमा चढेर मिडियाकर्मी खेमचन्द्र अधिकारी, प्रेम बास्तोला, योगराज ओझा र म अलिअलि उज्यालो रहँदै भेडेटार चोकैमा रहेको अरुण टप होटलमा पुग्यौँ । आयोजक भएको हुनाले त्यहाँका होटल व्यवसायीहरु फुर्सदमा कोही थिएनन् । बोल्न त बोलियो तर जवाफ तत्कालै पाइदैनथ्यो यसो भनिरहँदा उनिहरुले हामीलाई चासो नदिएका भने होइनन् । फुड फेस्टिवलको तयारी छोटो समयमा गर्नुपरेको हुदा दवाव र तनावका बिचमा काम गर्दै थिए सायद त्यो बेला ।

अर्को दिनदेखि हुने कार्यक्रमको तयारीबारेमा छोटो कुराकानी गर्न भ्यायौँ हामीले युवा होटल व्यावसायी जितेन्द्र रुम्दाली राईसँग । सुनसरीको इटहरी र मोरङ्गको सुन्दरहरैँचाबाट त्यहाँ पुगेको हामी पत्रकारको टोलीलाई जितेन्द्रले उनकै होटल भेडेटार भिलेज रिसोर्ट थुम्किमा बसोबासको व्यवस्था मिलाएका रहेछन् । जंगलको बाटो लम्किँदै हामी थुम्कितिरै लाग्यौँ । झमक्क साँझ परेको थियो योजना हाम्रो हिडेरै पुग्ने हो तर भेडेटार होटल एसोसियसनका सचिवले हामीलाई हिड्न दिएनन् बरु आफ्नो कारमा हामीलाई पुर्याइदिन चालकलाई अराए ।

थुम्किमा हामीलाई भेडेटार भिलेज रिसोर्टले न्यानो स्वागत गर्यो । जितेन्द्रकी जिवन सँगिनी पद्यमिनी राई र त्यहाँ कामगर्ने भाईहरुले तुरुन्त कफीको व्यवस्था गरिदिए । चिसो निकै थियो हामी केही छिन भेडेटारको सुन्दरता र त्यहाँको आत्मियता देखेर मख्ख पर्यौँ । केही छिनमै खानाको व्यवस्था भयो । चिसोले कान तताएको थियो साथीहरु कोठा नम्बर १०७ तिर लागे । समय निकै घर्किदै थियो । भोलि हुने कार्यक्रमको लगभग काम सिद्धाएर जितेन्द्र होटल आइपुगे । भेडेटारको पर्यटकिय कथा र उनको संघर्षको बारेमा कुरा गर्ने मौका सम्झेर हामीले त्यही अवसरलाई सदुपयोग गर्यौँ ।

IMG20211231080253

जितेन्द्र आउना साथ कोइला भरेको हुक्का उनको अगाडी आईपुग्यो । हुक्काबाट आएको धुवाँसँग रमाउदै जितेन्द्रले आफ्नो संघर्षको कथा यसरी हामीसँग साटे ।
ओखल्ढुङ्गा जिल्लाको मोली गाविस अर्थात अहिलेको मानेभन्ज्याङ्ग गाउँपालिका वडा नम्बर १ मा जन्मिएका हुन्, जितेन्द्र रुम्दाली राई । २०३८ सालमा जन्मिएका जितेन्द्र पाँच दाजुभाई मध्येका एक हुन । १० बर्षकै उमेरमा जितेन्द्रले जन्मथलो छाडेर धरान आउनु परेको थियो । पाँच भाई मध्ये दुई भाई धरान र अरु तीन भाई ओखलढुङ्गामा बसे । कक्षा ५ देखि जितेन्द्रले धरानको पव्लिक स्कुलमा अध्ययन गरे । २०५३ सालमा विद्यालय तहको पढाई सकेपछि आफुले धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र स्नातक अध्ययन गरेको जितेन्द्र बताउँछन् ।

समाजमा चलेको चलन बढेर १८ बर्ष पुगेपछि लाहुरे हुनुपर्छ भन्ने माध्यता थियो र अहिले पनि छ । लाहुरे हुने चाहानामा जितेन्द्रले पनि निकै बर्ष रहरहरु खेर फालेका थिए । तीन पटक ब्रिटिस आर्मीमा जागिर खान गरेका अथक प्रयासहरु खेर गएका थिए जितेन्द्रका । भारतीय सेना अर्थात इन्डियन् आर्मीको लागि पनि लडेछन् रुम्दाली तर जिन्दगीका हरेक प्रयासहरु कहाँ सफल हुन्छन् र । एक पटक त धरानबाट छानिएर भारतको गुम्पाटमा पुगेर पनि असफल बनेका थिए उनि । भारतीय र ब्रिटिस दुवै आर्मीमा असफल भएपछि नेपाल आर्मीमा समेत एक पटक जितेन्द्रले प्रतिस्पर्धा गरेका थिए तर त्यहाँ पनि चाहिने जति दौडन सकेनन् । असफलताका बाहानाका कति कुरा गर्नु हुन त असफलता नै सफलताको सुरुवात अर्थात कडी मानिन्छ ।

धरानमा बसेर पढ्दै अनि साथमा बिभिन्न प्रतियोगिताहरु भिड्दै गर्दा जितेन्द्रका काकाको भेडेटार स्थित भेडेटार भ्यु नामक होटलमा काम गर्न थाले रुम्दालीले । काकाको लगानीमा रहेको होटलमा व्यवस्थापकको जिम्मेवारी लिएर काम गर्दा रुम्दालीलाई आफु पनि होटल व्यवसायी बन्न सक्छु भन्ने आँट र साहस मिल्यो । अनि संघर्षका दिनहरु पनि सुरु भए जितेन्द्रका । हुन त बालखै उमेरमा जन्मथलो छाडेर धरान आउनु त्यहा आएर पढ्नु लाहुरे हुने आशामा पटक पटक प्रयास गर्नु यी सबै संघर्षका ठेलिहरु हुन जितेन्द्रका । तीन बर्ष सम्म काकाको लगानीमा रहेको होटलमा तलबी कामदार भएर काम गरेपछि काकाको परिवारनै युके तिर लाग्यो, त्यसपछि जितेन्दले त्यही काकाको होटललाई भाडामा लिएर चलाउन थाले । कामदार हुदाहुदै जितेन्द्र त्यही होटलको सञ्चालक बन्न पुगे । “केहि हुन्छ भन्ने आँटले थालियो अहिले सक्सेस हुदैछ।” जितेन्द्रले प्रफुल्ल मुद्रामा सुनाए ।

भेडेटारलाई अहिलेको अवस्थामा ल्याउन नीजि क्षेत्रको ठुलो हात रहेको छ । सरकारले त नारामात्रै लगाउने हो । विकास गर्न चुनावी भाषण गरेजस्तो सजिलो कहाँ छ र ? कृषि र पर्यटनमा सरकारको नारा भएता पनि लगानीको ग्यारेन्टि दिने खालको कार्यक्रमहरु ल्याउन नसकेको जितेन्द्र सुनाउँछन् । सरकारले नदिएको रोजगारी नीजि क्षेत्रले दिएका छन् । जितेन्द्रले अहिले पनि आफ्नो रिसोर्टमा ६ जना बेरोजगारलाई रोजगारी दिएका छन् ।

केटौले उमेरमा भेडेटार छिरेका जितेन्द्र रुम्दाली अहिले त्यहाँको जोश बोकेको युवा व्यावसायी हुन् । होटल एसोशियसन भेडेटारको अध्यक्ष रहेका जितेन्द्रले सामाजिक काममा हात हालेको भने पाथीभरा क्लवबाट हो । सचिवको रुपमा २०६३ सालमा पाथीभरा क्लवमा हात हालेका राई २०६५ मा सोही क्लवको अध्यक्ष भए । जितेन्द्र अध्यक्ष रहेको भेडेटार होटल एसोशियसन उनिहरुकै सक्रियतामा स्थापना भएको हो । संस्थापक सचिवको रुपमा होटल एसोशियसनलाई जन्माएका जितेन्द्र अहिले आस्थाको हिसावले नेपाली काँग्रेस पार्टीका युवा नेता पनि हुन् । २०६२ सालमा भेडेटारको सचिव बनेका रुम्दाली अहिले नेपाली काँग्रेस धनकुटा ‘क’ क्षेत्रिय कार्यसमितिका सभापति हुन् । राजनितिमै सक्रिय भएपछि पार्टीले टिकट दिएका रुम्दाली गत स्थानीय निकायको चुनावका साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा प्रत्यासी बनेका थिए ।

अहिले जितेन्द्रले काकाको होटल छोडेर आफ्नै भेडेटार भिलेज रिसोर्ट खोलेका छन् । जितेन्द्रको रिसोर्ट भेडेटार बजारबाट केही माथि थुम्कि भन्ने ठाउँ छ । धनकुटाको राजारानी जाने सडकको पेटिमै लमतन्न रहेको रिसोर्ट आन्तरिक पर्यटकलाई तान्ने सुन्दर नमुना हो भन्दा अतियुत्ति हुदैन । जीवन संगिनी र एउटा छोरा सहित जितेन्द्रको सानो परिवार छ । आफ्नै व्यवसाय खुसी र सुःख दुवै मिलेको छ । दुई तीन पटकको लाहुरे बन्ने सपना नतुहेको भएपनि खासै केही हुने थिएन ।

“अर्काको इशारामा चल्नुपथ्यो , कमाउनकै लागि अलिकति धन कमिन्थो तर अहिले मान प्रतिष्ठा र इज्जत सबै बढेको छ । ”जितेन्द्र भन्दै थिए । विदेश जाँदा सबै कुरा हुन्छ भन्ने छैन्, जे गरिन्छ मनबाटै गर्नुपर्छ । आफ्नो काममा निरन्तरता र लगनशिलता हुनुपर्यो यसै भन्दै थिए संघर्षका यी प्रतिमुर्ती । त्यसो त राजनितिक अस्थिरताले व्यवसायलाई पनि निकै पटक प्रहार गरिरहयो कति पटक धारासायी हुने अवस्था पनि आयो तर अठोट छाडेनन् जितेन्द्रले । बिचमै छाडेको भए आज यो अवस्था पनि त आउने थिएन नि ।

सरकारका निति र कार्यक्रमले भने पर्यटनलाई साथ नदिएको जितेन्द्रको बुझाई छ । सरकारले कृषिमा करोडौँ खर्च गरेको छ तर पर्यटनमा त्यस्तो छैन । पर्यटनको अथाह सम्भावना बोकेको ठाउँमा लगानी गर्ने लगानीकर्ताको त्याग लाई ग्राहयता दिएको देखिदैन् । अहिले दक्ष कामदारको समेत अभाव झेलिरहेको छ, पर्यटन क्षेत्र जितेन्द्रको भनाई धेरै यथार्थमा अडिग थियो । अहिले भेडेटारमा ७० को हाराहारीमा होटलहरु छन्, ती सबै होटल एसोशियसनमा आवद्ध छन् ।

होटल व्यावसायीको छाता संगठन नभएको अवस्थामा सबै एकवद्ध भएर लागेका होटल व्यवसायीहरुले भेडेटारको प्रचार प्रसार गर्ने देखि लिएर दक्ष जनशक्ति उत्पादन गर्ने सम्मका काम भेडेटार होटल एसोसियसनले गरेको छ । कोभिडको बेला एसोशियसनकै पहलमा भाडामा रहेका होटल व्यवसायीका साहुहरुसँग समन्वय गरेर घरभाडा छुट दिलाउने सम्मका काम भएको राईले बताए । यहाँ गरिएको लगानी डुव्दैन भन्ने अठोटले पनि भेडेटारमा होटल खोल्ने क्रम अझै बढिरहेको राईले बताए ।

अरुको परिवार पाल्ने गरी रोजगारी दिन पाउँदा आफुलाई खुसी राख्ने रुम्दाली जिन्दगीलाई संघर्षसँग दाँज्छन् । परिवारसँगै बसेर जिन्दगीका दुःख सुःख काट्न पाउँदा आफुलाई भाग्यमानी मान्ने जितेन्द्रका खुःसीहरु चुली रहुन् यहि हाम्रो शुभकामना ।