इटहरीः इटहरीमा रहेको एपेक्स हस्पिटलको लापरवाहीले आफ्नो छोरोको मृत्यु भएपछि साढे ३ बर्षीय सन्देश शाहलाई काखैमा राखेर आफन्तले आन्दोलन चर्काएका छन् ।
बिहिबार बिहानैबाट आन्दोलनमा उत्रेका मृतकका परिवारले एपेक्स हस्पिटलमा तोडफोड गर्नुकासाथै सडक अबरोध गराएका थिए । पछि सुरक्षाकर्मीको अनुरोधमा सडक जाम खोलिएको मृतक सन्देशका काका कमल शाहले प्रदेश पोर्टललाई बताए ।

बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई इटहरी स्थित अधिकारी मेडिकलमा ल्याइएको र पछि त्यहाँ उपचार हुन नसकेपछि एपेक्स हस्पिटलमा पुर्याइएको थियो ।
डाक्टरले पिसाव, दिसाको ल्याव टेस्ट रिपोर्ट आइसकेपछि फुड पोइजनिङ्ग भएको भन्दै नआत्तिन परिवारलाई भनेका थिए तर राती बिहिबार बिहानै सन्देशको मृत्यु भएको सन्देशका वाबुले प्रदेश पोर्टललाई बताए ।

राती हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान भएको सन्देशका बुबाको भनाई छ । बच्चा नबाँच्ने स्थिती भएपछि एपेक्स हस्पिटलले राती २ बजे सन्देशलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा लान भनेका थिए । तर बच्चाको धरान लाने क्रममा बाटोमै मृत्यु भएको थियो । वीपी प्रतिस्ठान धरानले बच्चालाई ओभर डोज खोप लगाएका कारण मृत्यु भएको बताएको परिवारको दावी छ ।

एपेक्स प्रशासनसँग बार्ता भइरहेता पनि हस्पिटलले पोष्टमार्टम गर्न दवाव दिइरहेको बताईएको छ । आफ्नो छोराले बिष सेवन नगरेको तर हस्पिटलले समयमा उचित उपचार नगर्दा छोराको मृत्यु भएको सन्देशका बाबुको भनाई छ । हस्पिटल प्रशासनले मृत बालकका परिवारलाई उचित क्षतिपुर्ती दिने आश्वासन दिएको बुझिएको छ । तर परिवारले भने उपचारमा संलग्न डाक्टरलाई बाहिर निकाल्नु पर्ने, उनको लाईसेन्स खारेज गर्नु पर्ने लगायतका माग राखेका छन् ।