इटहरीः बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएर ऋण लगानीको काम नहुँदा पनि फागुन महिनामा घरजग्गा कारोबार ह्वात्तै बढेको छ ।

चालु आर्थिक बर्षको पुरै कारोबार हेर्ने हो भने साउन देखि फागुनमा ठुलो संख्यामा घरजग्गा कारोबार भएको हो । मंसिर यता ओरालो लागेको घरजग्गा कारोबार फागुनमा फेरि उकालो लागेको हो । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा ७४ हजार ३६ घरजग्गा किनबेच (लिखत पारित) भएका छन् ।

साउनमा सबैभन्दा धेरै साढे ७५ हजार घरजग्गा किनबेच भएका थिए भने भदौबाट त्यो संख्या विस्तारै कम हुदै गएको थियो तथापी माघको तुलनामा फागुनमा १४ हजार ५२० वटा बढी घरजग्गा किनबेच भएको भुमि सुधार तथा अभिलेखिकरण बिभागको तथ्यांकले देखाउँदछ । फागुनमा किनबेच, रोक्का, फुकुवा गरी कुल १ लाख ६२ हजार ६७८ वटा घरजग्गाको कारोबार भएको विभागले जनाएको छ । असोज र कात्तिकमा सुस्ताएको घरजग्गा किनबेच मंसिर र पुसमा बढेको थियो । फेरि माघमा ओरालो लागेको कारोबार फागुनमा ह्वात्तै बढेकोे छ ।

विभागको तथ्यांक अनुसार चालु वर्षको आठ महिना फागुनसम्म कुल ५ लाख २७ हजार ९४९ घरजग्गा किनबेच भएको छ । जसमा धेरै भनिएको चालु आर्थिक बर्षको पहिलो महिना साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो ।पछिल्लो समय बैंकिङहरु तरलताको संकटले ग्रस्त भएर सहजै ऋण नपाउने अवस्था भए पनि घरजग्गा कारोबारमा भने त्यसको असर परेको देखिँदैन् ।

बैंकबाट ऋण नपाउने अवस्था र पाए पनि महँगो ब्याज तिर्नुपर्ने अवस्थामा पनि फागुनमा घरजग्गा कारोबार ह्वात्तै बढेको देखिन्छ ।बैंकबाट सहज ऋण नपाउँदा र ब्याज समेत बढ्दा पछिल्लो समय घरजग्गाको मूल्यमा केही गिरावट आएको व्यवसायीहरुले बताउँदै आएको भएपनि फागुन महिनामा भएको कारोबारले सबैलाई झस्काएको छ ।

पछिल्लो समय बैंकबाट ऋण नपाएपछि केही पैसा स्टकमा भएका सहकारीहरुले ऋण दिन थालेका छन्, त्यसैले पनि कारोबार बढ्न सहयोग पुगेको देखिन्छ । लगानीको क्षेत्र मानिएको सेयर बजारमा बढ्ने घट्ने भइरहने र घरजग्गा कारोबारमा घट्ने सम्भावना नहुदा कारोबारीहरु घरजग्गा तिर लम्केको बताइन्छ ।

एकै महिनामा ६ अर्व राजश्व संकलन

सरकारले घरजग्गा कारोबारबाट एकै महिना ६ अर्व भन्दा बढि रकम राजश्व वापत संकलन गरेको छ । देशभरीका मालपोत कार्यलयको राजश्व संकलन विवरण हेर्दा फागुन महिनामामात्रै सरकारले ६ अर्व २६ करोड रपैया बराबर राजश्व संकलन गरेको छ । माघमा ५ अर्व ५० करोड राजश्व संकलन गरेको मालपोतले फागुनमा झण्डै अर्वको राजश्वमा छलाँग मारेको छ । देशभरका विभिन्न मालपोत कार्यालयहरूबाट नामसारी, रोक्का, फुकुवा लगायत कारोबार बढ्दा राजस्व संकलनमा पनि बढेको हो । चालु आवको आठ महिनामा घरजग्गा कारोबारबाट मात्रै सरकारले कुल ५४ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

धेरै घरजग्गा किनबेच हुने मालपोत कार्यालयमा सुनसरीको इनरुवा एक नम्बरमा

देशैभरीको मालपोतको कारोबार हेर्दा सबैभन्दा बढि घरजग्गा कारोबार गर्ने सुनसरी जिल्लाको भुमि सुधार तथा मालपोत कार्यालय इनरुवा रहेको छ । मालपोत कार्यलय इनरुवाबाट फागुन महिनामा ३ हजार २८६ घरजग्गा कारोबार भएका छन् । इनरुवा पछि फागुनमा धेरै जग्गा किनबेच हुने मालपोत कार्यालयहरूमा क्रमशः मालपोत कार्यालय बेलवारी छ । बेलबारी मोरङबाट फागुनमा २ हजार ८७२ जरजग्गाको कारोबार भएका छन् । त्यसपछि झापाको मालपोत कार्यालय भद्रपुर, जनकपुर, बाँकेको नेपालगन्ज लयातत छन् ।