इटहरीः धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी डा.रोशन कलवारलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गर्ने निर्णय गरेको छ भने अन्यलाई सचेत गराएको छ ।

सिरहाको कल्याणपुरका ललितकुमार साहको खुट्टाको शल्यक्रिया गर्दा कुन रड को प्रयोग गर्ने भन्ने विषयमा शल्यक्रिया चिकित्सकको टिमविच विवाद उत्पन्न भएको थियो । सोहि विवादमा जबरजस्ती गरेको भन्दै डाक्टर कलवारलाई निलम्बन गरिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।नेपाल मेडिकल काउन्सिलले डा.कलवारलाई शल्यक्रिया कक्षमा चिकित्सकीय मूल्य, मान्यता र आचरणको न्यूनतम मापदण्ड पालना नगरेको भन्दै निलम्बन गर्न लागेको बताएको हो ।

डाक्टर कलवार पुस २७ गते सिरहा कल्याणपुर नगरपालिका–११ का ललितकुमार साहको खुट्टाको शल्यक्रियामामा सहभागि थिए । बिरामीका आफन्तले चिकित्सकका लापरबाहीका कारणले बिरामीको ज्यान खतरामा परेको र खर्च पनि वृद्धि भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो । सोहि उजुरीका आधारमा नेपाल मेडिकल काउन्सिलले छानविन गरेको थियो ।

उक्त घटनाको विषयमा छानबिन गरी कारबाहीको माग गर्दै प्रतिष्ठान प्रशासनले काउन्सिलमा उजुरी दिएको थियो । शल्यक्रियामा सहभागि डा.कलवार आफैले पनि काउन्सिलमा उजुरी दिएको थिए ।छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा काउन्सिलको पूर्ण बैठकले निलम्बन गर्ने निर्णय गरेको बताइएको छ । ‘काउन्सिलको पहिलो पूर्ण बैठकले निलम्बन गर्ने निर्णय गरेको र उनलाई थप स्पष्टीकरण सोधिएको छ ।डाक्टर कलवारको स्पष्टिकरण आएपछि पुन काउन्सिलको बैठक बस्ने र थप निर्णय गर्ने बताईको छ ।निलम्बन पछि डा.कलवारलाई ३ महिनाका लागि व्यावसायिक कार्य बन्चित गराइएको छ ।शल्यक्रियाका बखत पटक–पटक प्रतिष्ठानमा विवाद हुँदा समेत गम्भीर नहुनु प्रतिष्ठान प्रशासनको पनि कमजोरी भएको छानविन समितिका संयोजक डाक्टर हरिहर वस्तीले बताएका छन् ।

काउन्सिलले प्रतिष्ठानलाई विदेशी दातृ निकायबाट प्राप्त साइन नेलसम्बन्धी आवश्यक निर्देशिका बनाउनसमेत निर्देशन दिने भएको छ । उक्त घटनामा संलग्न अन्य २ चिकित्सक डा. अमितविक्रम साह र डा.अमित लिम्बूलाई सचेत गराउने निर्णय समेत गरिएको संयोजक वस्तीले बताएका छन् ।

डा.कलवारले अमेरिकी दातृसंस्थाले निःशुल्क दिएको साइन नेल बिक्री गर्ने गरेको पुष्टि भएको थियो । उनले निःशुल्क रड बिक्री गरेको पीडितहरूले प्रहरीमा उजुरी दिएपछि डा. कलवारले पीडितहरूको पैसा फिर्ता दिई माफीसमेत मागेका थिए । बिक्री गरेको पुष्टि भएपछि प्रतिष्ठानले डा. कलवारलाई साइन नेल प्रयोग गर्न रोक लगाएको थियो । पुस २७ गते डा। कलवारले रोक लगाएको साइन नेल आफै झोलामा बोकेर ल्याई जबरजस्ती प्रयोग गर्ने प्रयास गरेका थिए ।