इटहरीः संखुवासभा पाँचखपन ४ होक्से (हाल ललितपुर) बस्दै आएका रमेशकुमार तामाङ र श्रीमती प्रमिला सार्कीबिच विगत ५ महिना यता खासै राम्रो सम्बन्ध थिएन । प्रेम विवहा गरेको दुवै ललितपुरमा डेरा गरि फर्निचर व्यवसाय गदै आएका थिए ।

प्रमिला रमेशको कान्छी श्रीमती थिइन । माघ अन्तिम तिर प्रमिला रमेशलाई जानकारी नदिई संखुवासभा पाँचखपन ८ माइती घर आएकी थिइन । रमेशले धेरै पटक प्रमिलालाई घर फर्किन भनेर सम्झाएका थिए । तर प्रमिला ललितपुरस्थित डेरा नफर्किएपछि रमेशले जबरजस्ती भएपनि कान्छी श्रीमतीलाई फर्काउने योजना बनाउँछन् र साथमा नजिकका साथीहरूलाई लिएर संखुवासभा पुग्छन् ।

नक्कली प्रहरीको पोशाक भाडामा लिइ प्रहरी बनेर प्रमिलालाई झुक्याएर रमेशलाई बुझाउने योजना अनुसार रमेशसहित ५ जनाको समूह फागुन २६ गते संखुवासभा आँउछन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार रमेशले काठमाडौँ बागबजारस्थित एक टेलर्सबाट  दर्ज्यानी  चिन्ह भएको ४ थान प्रहरीको नक्कली पोसाक ४ थान बुट दिनको ५ सयको दरले दुई दिनको लागि भाडामा लिएका थिए । जसमा सईको एक जोर, हबलदारको एक जोर र प्रहरी जवानको दुई जोर नक्कली पोशाक लिएर रमेशको समूह संखुवासभा आएको डीएसपी सुवेदीले  बताए ।

‘रमेशले भाडामा लिएको प्रहरीको पोशाक चलचित्रमा प्रयोग हुने हो, त्यही पोशाक लगाएर २७ गते साँझ ४ जना नक्कली प्रहरी प्रमिलाको घर पुगेर...रमेशले जङ्गलमा आत्महत्या गरेको छ, तपाई हिँड्नु पर्यो...भनेका रहेछन्’ सुवेदीले भने, ‘प्रमिलाको सामु प्रहरीनै आएर त्यस्तो भनेपछि उनी प्रहरीसँग माइती घरदेखि माथिको जंगलमा पुगेकी थिइन ।’

‘हामी तुम्लिङटार चौकीबाट आएका प्रहरी हौ’ भनेपछि स्वभाविक रुपमा प्रमिला प्रहरीको साथमा गएको देखिन्छ । तर प्रहरीले जङ्गलको एकान्तमा लगेर श्रीमानलाई बुझाएपछि प्रमिला झस्किएकी थिइन । त्यहाँबाट भाग्न खोजेपछि उनलाई ति नक्कली प्रहरीले रुखमा बाँधेका थिए । चिच्याउन थालेपछि प्रमिलाको मुखमा समेत डोरी लगाएर बाँधिएको थियो ।’

‘योजना अनुसार नक्कली प्रहरीको फन्दामा परेकी प्रमिलालाई त्यो रात जंगलमै हात खुटा बाँधेर रमेशले ...तलाई नि मार्छु र आफु नि मर्छु भन्दै... शारीरिक र मानसिक यातना दिइएको पाइयो’ डीएसपी सुवेदी भन्छन् ‘२८ गते दिउसो रमेशको फन्दाबाट भागेर प्रमिला प्रहरीको सम्पर्कमा आएकी थिइन ।’

डीएसपी सुवेदीका अनुसार २८ गते प्रमिलाले रमेशबिरुद्ध अपहरण तथा ज्यान मार्ने उघोगमा जाहेरी दिएपछि प्रहरीले नक्कली प्रहरीको खोजी गरेको थियो । खोजी गर्ने क्रममा सोही जङ्गलबाट प्रहरीको ४ थान नक्कली पोशाक र बुट बरामद भएको थियो ।

घटनामा संलग्न श्रीमान रमेश र पाँचखपन नगरपालिका–४ का अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी ३ जना फरार छन् । पक्राउ परेका अर्जुन तामाङले सईको दज्र्यानी चिन्ह भएको पोसाक लगाएका थिए ।

फरार तीन जनाको खोजी भइरहेको डीएसपी सुवेदीले  बताए । पक्राउ परेको श्रीमान रमेश र अर्जुन तामाङलाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।