सिरहाः सिरहाका तीन नगरपालिका सिरहा, कर्जन्हा र कल्याणपुरका ३४ अगुवा किशोरीहरु मर्यादित महिनावारी अधिकारका सवालमा पैरवी गर्न अग्रसर भएका छन्। उनी किशोरी आवाज सञ्जालमार्फत एकजुट भएर महिनावारीबारे सचेतना जगाउने उद्देश्यले संगठित पनि भएका छन्।

समाजमा विद्यमान रीतिरिवाज र कुसंस्कारका कारण बालिकाहरुले आफ्नो महिनावारी समयमा विभिन्न कुराहरुमा रोकावट हुने गरेको, खानेकुरा, व्ययक्तिगत सरसफाइ गर्नेकुरा र आवश्यक स्वच्छता सामाग्रीको सहज उपलब्धता समेतमा कठिनाइ भएको कारण असहज हुने गरेकोबारे पैरवी कार्यशालामार्फत छलफल गरेका छन्।

नेपालको संविधान र विभिन्न कानुनहरूले महिनावारीसम्बन्धी हुने सबै किसिमका छुवाछूत वा भेदभाव अमानवीय व्यवहारहरू हुन् भनी दण्डनीय बनाएको बारे चर्चा गर्दै आफ्नो सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि संगठित भएर आवाज उठाउने, सरोकारवाला निकाय तथा जिम्मेवार पदाधिकारीहरुलाई यसबारे प्रश्न गर्ने, विद्यालय, समुदाय तथा सार्वजनिक स्थलहरुमा महिलामैत्री खानेपानी, सरसफाइ तथा स्वच्छताको सुविधा उपलब्धका लागि पहल गर्नेजस्ता प्रतिबकद्धतासहित कार्यशाला सम्पन्न भएको छ।

उक्त भेलामा उपस्थित किशोरीहरूले आगामी दिनमा समेत संगठित भएर कार्य गर्ने उद्देश्यले इन्दु साह (कर्जन्हा, सिरहा) को संयोजकत्वमा ३४ सदस्यीय किशोरी आवाज सञ्जाल गठन गरेका छन्। त्यसैगरी सञ्जना साह, सिरहा, नेहाकुमारी पूर्वे, कल्याणपुर र इन्दु साह , कर्जन्हा रहेको नगरपालिका स्तरको किशोरी समूहसमेत गठन गरेका छन्। आगामी दिनमा आ–आफ्नो पालिकाका अन्य अगुवा किशोरीहरूलाई समेत समेटेर बालबिबाह, किशोरी शिक्षामा साथी शिक्षकका रूपमा कार्य गर्ने जनाएका छन्।

Group Photo-MHM_Siraha

सहभागीहरुले संविधान, कानुन र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुले समेत महिला तथा किशोरीको मर्यादित महिनावारीको अधिकारलाई आधारभूत मानवअधिकारका रूपमा सुनिश्चितता गरेको छ भन्नेबारे छलफल गर्दै नेपालमा भने यस सम्बन्धमा पर्याप्त कानुन तथा भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा यससम्बन्धी समस्याहरु समाधान हुन नसकेको विचार व्यक्त गरेका छन्। उनीहरूले राष्ट्रिय मर्यादित महिनावारी नीति २०७५ को मस्यौदालाई तुरुन्त कानुनका रूपमा पास गर्न, विद्यालयहरूमा निःशुल्क प्याडको उपलब्धता, प्रयोग गरेको प्याडको उचित व्यवस्थापन, किशोरीहरूमा मनोसामाजि परामर्शजस्ता सुविधामा राज्य र स्थानीय सरोकारवाला निकायहरुले अविलम्ब कदम चाल्नुपर्नेतर्फ आवाज उठाएका छन्।

सबल नेपालका खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना संयोजक भीम शाहीले मिथिला समाज तथा परिवारमा महिनावारीलाई बार्ने त्यति कठोर चलन नरहे पनि घरपरिवार, विद्यालय र सामाजिक/सार्वजनीक संस्थाहरूमा महिला तथा किशोरी मैत्री खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरूको अभाव भएका कारण बालिकाहरूलाई असुविधा भएको बताए। उनका अनुसार धेरैजसो सरकारी/सामुदायिक विद्यालयहरूमा महिला/बालिका मैत्री सौचालय नहुनु, भएका शौचालयमा पनि पानीको सुविधा नहुनु महिनावारी स्वच्छता व्यवस्थापनमा आवश्यक अन्य सुविधा नहुनुजस्ता समस्याहरु साझा सवालका रूपमा रहेको छ। कार्यशालाको सहजीकरण सबल नेपालकी अध्यक्ष जुना गिरी र पोषण तथा स्वच्छता अकिृत भवानी रायले गरेका थिए भने कार्यक्रमको व्यवस्थापनमा वेल्टहंगरहिल्फे र यसको साझेदार संस्था सबल नेपालले सहयोग गरेको थियो।