इटहरीः धरान प्रहरीले धरानको जंगलमा एकै दिन ४ जनाको शव झुण्डिएको अवस्थामा फेला पारेको छ ।

प्रहरीका अनुसार धरान–१९ चौकीबारीस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पर्ने (वीपी  प्रतिष्ठानको ठीक पछाडी) झाडीमा मृत फेला परेका पुरुषको पहिचान गर्ने क्रममा प्रहरीले थप तीन जना झुण्डिएको अवस्थामा फेला पारेका हो ।

घाँस दाउरा गर्ने स्थानीयले रुखको हाँगामा लहराको पासो लगाई झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनाको जानकारी पाउनासाथ छानविन गर्दै लैजाँदा आफन्त र वडा अध्यक्षबाट झुण्डिएका व्यक्तिको पहिचान गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार ती पुरुष धरान–१६ लोकतान्त्रिक चोकका ३५ वर्षीय सोनु शेर्पा रहेको पाइएको छ । धरानमै मजदुरी गर्दै आएका शेर्पाको हत्या या आत्महत्या के भएको हो भन्ने बिषयमा भने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

शेपाको शव ‘मुचुल्का उठाइ पोष्टमार्टमका लागि शव बीपी प्रतिष्ठानमा ल्याइएको छ भने बाँकी घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
यसैगरी धरान प्रहरीले शनिबार साँझदेखि आइतबार बिहान सम्ममा शेर्पा सहित ४ जनाको शव झुन्डिएको अवस्थामा भेटेको छ । झुण्डिएको अवस्थामा भेटिएकाहरुमा धरान–१६ नौलो बस्तीकी १४ वर्षीया नन्दनी मरिक, धरान–११ भवानीचोकका ४० वर्षीय विरोध सुनुवार र धरान–५ देवीगाउँकी १८ वर्षीया समीक्षा थापा छन् । एक दिन चार जनाको शव फेला परेपछि के कस्तो घटनाका कारण आत्महत्या या हत्या भएको हो भन्ने बिषयमा प्रहरीले आफ्नो अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।