इटहरीः मोरङ जिल्लाको लेटाङ नगरपालिका मा आइतवार आक्रोशित समूहको खुकुरी प्रहारबाट मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठ परिवारकी एक्ली छोरी भएको खुलेको छ । खोटाङ्ग जिल्लाको वराहपोखरी गाउँपालिकाको घोरिखाँमा जन्मेकी उर्मिलाको बिवाह भएको एक बर्ष पनि वितेको छैन् ।

सरकारी जागिरे बन्ने धोको पुरा गर्न प्रयास गरेको लोकसेवा आयोगको परीक्षामा असफल भएपछि उनले ३ वर्षअघि प्रहरीमा भर्ती भएकी उर्मिला आफुहरुको जेहेन्दार छात्रा भएको उनले अध्ययन गरेको विद्यालय बालकन्या मावि फाक्टाङ्गका शिक्षक शम्भु प्रसाद लम्साल बताउँछन् ।

उर्मिलाका दाजु भुवन पनि प्रहरी सेवामै कार्यरत रहेका छन् । भुवन प्रहरी सहायक निरिक्षक हुन् । खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका माइती घर भएकी उर्मिलाको विवाह उदयपुरमा भएका थियो । उर्मिलाले प्रहरी सेवामै कार्यरत प्रहरी कर्मचारीसँग बिवाह गरेकी थिइन् ।

इलाममा कार्यरत उर्मिलाका पति श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर आइपुगेका छन् । बहिनीको मृत्युपछि दाजु भुवन अर्थचेत अवस्थामा रहेको उनका सहकर्मीहरूले जनाएका छन् । उर्मिलाका बुवाआमा छोरीको अन्तिम संस्कारका लागि विराटनगर आउँदै छन् । उनको शव कोशी अस्पतालमा राखिएको छ । मृतकका परिवार शोकमग्न अवस्थामा कोशी अस्पतालमा भेला भएका छन् ।

कोही पनि बोल्न सक्ने अवस्थामा देखिन्नन् । लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउँसो १ बजेतिर आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए । आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालयबाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।

विद्यालय तनावग्रस्त बनेपछि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो । स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा तीनवटा मोटरसाइकलमा आगजनी गरेको थियो । त्यसक्रममा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठलाई प्रदर्शनकारीले खुकुरी प्रहार गरेका थिए । उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिए पनि बाटोमै उनको मृत्यु भएको मोरङ्ग प्रहरीले बताएको छ ।

आइतवार राति १०ः५० बजे अस्पतालले मृत घोषित गरेको प्रदेश प्रहरी कार्यालयका एसपी नवीन राईले बताए । घटनामा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका छन् । घाइते मध्ये १४ जना प्रहरी सामान्य उपचार पछि सेवामा फर्किएको मोरङ्ग प्रशासनले बताएको छ ।

घटना पछि स्थितीलाई नियन्त्रणमा लिन लेटाङमा सोमवार बिहान ७ बजेदेखि कफ्र्यु आदेश जारी गरिएको छ । अर्को निर्णय नभएसम्मलाई कफ्र्यु घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताएका छन् ।

घटनाका दोषीलाई कारवाही हुन्छः प्रधामन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा महिला प्रहरीको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
सोमबार सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा आएका प्रधामन्त्री देउवाले मन्तव्यको क्रममा लेटाङ्ग घटनामा महिला प्रहरीमाथि आक्रमण गर्नेलाई कारवाहिको दायरामा ल्याउने बताए । उनले हत्या अपराधमा संलग्नले उन्मुक्ति नपाउने बताउँदै कानुनअनुसार कार्वाही हुने बताए ।