सेसेल्सः नेपाल सरकारका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलोपटक गणतन्त्र सेसेल्सको मन्त्री स्तरिय भ्रमण गरेका छन् । यहि मार्च १८ तारिखदेखि २० तारिखसम्मको तीनदिने भ्रमणका क्रममा नेपाल र सेसेल्सबिचको दुइपक्षीय सम्बन्ध, श्रम सम्झौता र नेपाली श्रमिकहरुको हक हितका सम्बन्धमा यहाँका सरोकारवाला निकाय र सम्बन्धित मन्त्रालयका मन्त्रीसँग व्यापक छलफल भएको बताएका छन् ।

भ्रमणको अन्तिम दिन गैर आवासिय नेपाली संघ सेसेल्सले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले बिदेशमा श्रम गरेर अर्थतन्त्र धान्ने नेपालीहरुको हक,हित र सुरक्षाको लागि सरकार प्रतिबद्द रहेको धारणा राखे । उनले अगाडी भने अब यहाँ कार्यरत नेपालीहरुको लागि पनि स्थानिय सो–सरह तलब–सुबिधा र सेवाको लागि पहल गर्ने, श्रम सम्झौताको लागि प्रयास गर्ने र सेसेल्समा अन्य पनि थुप्रै क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्नको लागि आवश्यक प्रक्रिया अगाडी बढाउने वचनबद्धता जाहेर गरे ।

अबैधानिक तवरले अनावश्यक र अत्याधिक रकम असुलेर नेपालीलाई नेपालीले ठगी गर्ने गरेको दुखद समाचार सुन्नमा आएकोमा मन्त्रीले खेद प्रकट गर्दै आइन्दा त्यस्तो हुन नदिने आश्वाशन पनि दिए । उनले जोड दिए– अबदेखि कुनै पनि समस्या भए एनआरएनए मार्फत आधिकारिक रुपमा गुनासो लिएर आए श्रम मन्त्रालय सक्दो सहयोग गर्न सदैव तयार छ । नेपाल र सेसेल्स दुई देशबीच पहिलोपटक भएको यो मन्त्री स्तरिय भ्रमण एनआरएनए सेसेल्सको निरन्तर प्रयास र पहलकदमीले सम्भव भएको जनाइएको छ ।

276020247_4791621704269284_4037009773443998389_n

भ्रमण दलमा रहेका श्रम सचिव एकनारायण अर्याल,सह–सचिव राजिव पोख्रेल, उप–सचिव डा.थानेश्वर भुसाल र नेपालका लागि सेसेल्सका अवैतनिक वाणिज्यदूत नरेश दासको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । मन्तव्यका क्रममा बोल्दै सचिव अर्याल र वाणिज्यदूत दासले पनि सेसेल्समा रहेका नेपालीहरुको हक,हित र समस्या समाधानका विषयमा सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्दता जनाएका थिए । सेसेल्सको माहे आइल्याण्डस्थित रोचे प्रशासनिक भवनको सभा–हलमा सम्पन्न उक्त कार्यक्रम स्थानिय समय अनुसार अपरान्ह २ देखि ४.३० सम्म उल्लेख्य नेपालीहरुको उपस्थितिमा भएको थियो ।

एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन साहित्यकार तथा संस्थाका सल्लाहकार गणेश खड्काले गरेका थिए । कार्यक्रममा एनआरएनए सेसेल्स महिला उपाध्यक्ष खेसेना लिम्बुले स्वागत मन्तव्य दिएकि थिइन् भने संस्थापक अध्यक्ष आर पी पन्तले संस्थाको स्थापना र उपादेयतामाथि प्रकाश पारेका थिए । कार्यक्रम अवधिमा साहित्यकार गणेश खड्काले कविता सुनाउँदा उपस्थित सबैमा एकाग्रता छाएको थियो ।

कार्यक्रमको अर्को आकर्षण अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशको च्याप्टर अध्यक्ष समेत रहेका खड्काकै शब्द रचना, राजनराज शिवाकोटीको सङ्गीत तथा स्वरुपराज आचार्य अनि रचना रिमालको स्वरमा सजिएको घरदेश र परदेशको कथा समेटिएको गीतको अडियो मन्त्री श्रेष्ठले सार्वजनिक गरेका थिए ।

276044001_370708364918952_1260273137790762798_n

सेसेल्समा रहेका सिर्जनिशील नेपालीहरुको सामुहिक लगानी र प्रयासमा निर्मित उक्त गीतको म्युजिक भिडियो पनि चाँडै बजारमा आउने निर्माण पक्षले बतायो । कार्यक्रमको समापनमा अतिथिहरुलाई मायाँको चिनो स्वरुप संसारकै दुर्लभ तथा अद्भुत मानिने बनस्पति बिज‘कोे–को डे मेर’ को मुर्ति आयोजक एनआरएनए सेसेल्सको तर्फबाट समर्पण गरिएको थियो । पूर्वी अफ्रिकाको सुन्दर पर्यटकीय देश सेसेल्समा लगभग पन्ध्र सय नेपालीहरु कार्यरत रहेको अनुमानित आँकडा छ ।