लेटाङः संघीय सांसद् घनश्याम खतिवडाले मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको हिंसात्मक घटनाको वृहत छानविन गर्न माग गरेका छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै उक्त घटनामा तनाव सामान्य पार्ने जिम्मेवारीमा खटिएकी प्रहरी जवानको हत्या भएको घटनाको विषयमा गंभिर ध्यानाकर्षण भएको जनाएका छन् । उनले विज्ञप्तीमा मृत्युवरण भएकी प्रहरी जवान उर्मिला श्रेष्ठमा श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारमा भावपूर्ण समवेदना समेत व्यक्त गरेका छन् ।

उनले कर्तव्य पालनाको क्रममा रहेको प्रहरीमाथि सांघातिक हमला गरि ज्यान लिनेसम्मको घटनामा संलग्न जो कोहि भएपनि कानुनको कठघरामा उभ्याउनुपर्नेमा जोड दिए । उनले घटनामा विद्यालय जस्तो संवेदनशील सार्वजनिक स्थानमा आगजानी गर्नेसम्ममा काम भएकोमा तत्काल छानविनको माग गरेका हुन् ।

276096661_3050170065298437_6888940845945145548_n

सांसद् खतिवडाले घटनामा वाह्य घुसपेठ समेत भएको भनेर स्थानीयबासीबाट सूचना आएको भन्दै घटनालाई वृहत रुपमा छानविन गर्न आवश्यक देखिएको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले विद्यालयका शिक्षकले एक छात्राको घरमै गएर बलात्कार प्रयास गरेको घटनाको समेत गंभीर रुपमा सत्यतथ्य छानविन गरि उचित कारवाही गर्न पनि माग गरे ।

गत चैत्र ६ गते दोषीलाई विद्यालयबाट पक्राउ गरेर लैजान लाग्दा अवरोध भएपछि विद्यालयमा तनाव सिर्जना भएको थियो । जिल्लबाट थप सुरक्षा फौज झिकाएर राति अवेर पीडक शिक्षकलाई पक्राउ गरि लैजाने क्रममा भएको आक्रमणमा परि प्रहरी जवान श्रेष्ठको मृत्यु भएको थियो ।

घटनापछि हाल लेटाङमा कर्फ्यु  जारी छ । प्रशासनले घटनामा संलग्न भएको अरोपामा विभिन्न व्यक्तिहरुलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ । विद्यालयका एक शिक्षकले गत शुक्रबार छात्राको घरमै पुगेर आफ्नै छात्रामाथि बलत्कारको प्रयास गरेको भन्ने विषयमा विद्यालयमा तनाव अवस्था सिर्जना भएपछि हिंसात्मक घटना भएको थियो ।