इटहरीः इटहरी उपमहानगरभित्र रहेका नागरिक आरोग्य केन्द्र अर्थात आर्युवेद औषधालयमा औषधी अभाव भएको लामो समयसम्म पनि उपमहानगरपालिकाले औषधी नपठाउँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

पहिला जिल्लाबाट परिचालित हुने आयुर्वेदिक अस्पतालहरु देश संघियतामा गएसँगै स्थानीय तहको मातहतमा हुने गरेका छन्, तर स्थानीय सरकारका कर्मचारीको कामको सुस्ततासँगै औषधालयहरु औषधी बिहिन हुन थालेका हुन् ।

इटहरी नगरभित्र एउटा वडा नम्बर २ मा र एउटा वडा नम्बर १७ पकलीमा आर्युवेदिक औषधालयहरु छन् । अहिले दुवै औषधालयमा औषधीका दराज लगभग खाली भएका छन् ।
सामान्यतया आर्युवेद अस्पतालमा विरामी जाँदैनन्, तर इटहरी अस्पतालमा थामिनसक्नु भीड हुदा आर्युवेद अस्पतालमा दैनिक औषतमा १० देखि १२ जना मात्रै बिरामी उपचारका लागि आउने गरेको इटहरी नगरक्षेत्रमा रहेका आर्युवेद औषधालयहरुको भनाई छ ।

पछिल्लो समय सरकारले हरेक स्थानीय तहमा कम्तीमा एउटा नागरिक आरोग्य केन्द्र खोल्ने संघिय सरकारको नीती अनुरुप इटहरी उपमहानगरभित्र २ वटा आर्युवेदिक औषधालयहरु छन् ।

दुवै औषधालयमा औषधी अभाव रहेको त्यहाँ कार्यरत कार्यलय प्रमुखहरुको भनाई छ । लामो समयदेखि आफुहरुलाई औषधी अभाव रहेको र औषधी उपलव्ध गराईदिन अनुरोध सहितको पत्र नगरपालिकामा पठाएको भएपनि औषधी उपलव्ध नभएको इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको आर्युवेद औषधालयका प्रमुख चन्द्र कुमारलाल कर्ण बताउँछन् ।

उक्त नागरिक आरोग्य केन्द्रले गत कार्तिक महिनामै आफुहरुलाई औषधी उपलव्ध गराउन अनुरोध गर्दै उपमहानगरपालिकामा पत्रचार गरेको थियो तर अहिले सम्म पनि औषधी उपलव्ध भएको छैन् ।

आफुसँग औषधीको अभाव हुँदा आएका विरामीलाई पनि सेवा दिन नसकेको कर्णले बताए । “कतिपय विरामीहरु आउनुहुन्छ हामीसँग औषधि स्टक नहुँदा उपचार विनै फर्किरहनु भएको छ ।” कर्णले भने ।

वडा नम्बर २ मा मात्र नभई पकलीमा रहेको आर्युवेदिक औषधालयमा समेत औषधीको अभाव रहेको यहाँका प्रमुख कविराज राजकिसोर यादव बताउँछन् । “लामो समयदेखि हामी औषधी अभावमा छौँ । नगरपालिकामा फलोअप गर्दा तपाइहरुको औषधि आइहाल्छ अव टेन्डर प्रक्रियामा गइसक्यो भन्ने जवाफ पाइन्छ । ” यादवले अघि भने ।
यता इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका आर्युवेद हेर्ने प्रमुख मनोज यादवले भने औषधी अभाव बारे आफुलाई लिखित जानकारी अहिले सम्म नआएको दावी गरेका छन् ।

“औषधी के कति छ भन्नेबारे आर्युवेद औषधालयका प्रमुखहरुले अहिले सम्म लिखित जानकारी गराउनु भएको छैन् । जब सम्म लिखित जानकारी आउँदैन तव सम्म प्रक्रियामा जाने कुरा भएन । ” यादवले प्रदेशपोर्टलसँग भने ।

औषधी नभएको भनेर कविराजहरुले जानकारी गराएको अवस्थामा भने आफुले तुरुन्त पहल गर्ने यादवको भनाई थियो ।आर्युवेदिक औषधालयहरुले विद्यालय आयुर्वेद कार्यक्रम संचालन गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वस्थ्य खानपान तथा रहनसहनको बारेमा समेत जनचेतना फैलाउने गरेका छन् ।

कोरोनाको कारण विद्यालयहरु बन्द हुँदा संचालन हुन नसकेको त्यस्तो प्रकारको कार्यक्रमहरु अव लगत्तै संचालन गर्ने पकलीमा रहेको आर्युवेद औषधालयका प्रमुख राजकिसोर यादव बताउँछन् ।

उता वडा नम्बर २ मा रहेको औषधालयले पनि योगाका साथै स्वस्थ्य जीवनका बारेमा जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिरहेको त्यहाँका कविराज चन्द्र कुमार लाल कर्णको भनाई छ । आफुहरुले मासिक रुपमा ५ सय भन्दा बढी सेवाग्राहीलाई सेवा दिने गरेको कर्णले प्रदेशपोर्टलाई बताए ।

आर्युवेद औषधीबाट रोगको तत्काल निवारण हुने भन्दा पनि डाक्टरसँगको नियमित सल्लाहमा नियमित औषधी सेवन गर्नाले रोग लाग्नै नदिने विश्वास गरिन्छ । पछिल्लो समयमा आयुर्वेदिकमा धेरै विरामीको चाप बढ्न थालेको छ ।