इटहरीः जाडो किनारा लागेर गर्मी बढेसँगै प्रदेश नम्बर १ कै मुख्य पर्यटकिय भन्तव्य भेडेटारमा पर्यटकको सरगर्मी बढ्न थालेको छ ।

सामान्यतया शुक्रबार, शनिवार र विदाको दिनमात्रै पर्यटकिय भिड लाग्ने भेडेटारमा सिजनको सुरुसँगै अन्य दिनपनि चिसो खान जानेको उत्तिकै भिड  लाग्न थालेको भेडेटारका होटल व्यवसायीहरु बताउँछन् ।

भेडेटार होटल एशोसियशनका पुर्व अध्यक्ष लिलाराज लावती अव भेडेटारमा पर्यटकका लागि सिजन सुरु भएको बताउछन् । राजारानी तर्फ जाने बाटैमा रहेको होटल लावती कर्नरका संचालक समेत रहेका लावतीले पर्यटक लक्षित होटल निर्माण गर्ने क्रममा टिकटक ब्रिज सहितको संरचना निर्माण गरिरहेका छन् ।

फागुन सकिएसँगै तराईमा गर्मी बढ्ने र गर्मीठाउँका पर्यटकहरु चिसो ताप्नका लागि भेडेतार तिर हानिने भएकाले भेडेटारले गर्मीको समयमा आफ्नो सिजनको रुपमा लिने गरेको छ । जाडो समयमा निकै चिसो हुने भएकाले पनि पर्यटकहरु भेडेटार हत्तपत्त जान मान्दैनन् तर गर्मी बढेसँगै सबैको पहिलो रोजाई उच्च हिमाली हावापानी भएको भेडेटार नै हुने गरेको छ ।

पछिल्लो समय होटलको संख्या बढेका कारण होटलहरु त्यत्ति बिजि नहुने भएता पनि पर्यटकको संख्यामा भने वृद्धि भइसकेको होटल एशोसियशन भेडेटारका सह कोषाध्यक्ष रमेश श्रेष्ठले बताए । श्रेष्ठ भेडेटार चोकैमा रहेको अरुण टप होटलका संचालक समेत हुन् । कुनै बेला भेडेटारका होटल व्यवसायीलाई खाना खाने समय समेत नमिल्ने गरी पर्यटक हुने भएता पनि अहिले होटलको संख्या बढेकाले पर्यटक बढ्दा पनि महसुस भने त्यत्ति नहुने श्रेष्ठ बताउँछन् । रमेशका अनुसार यो बर्ष पनि पर्यटकहरुको चाप भेडेटारमा सुरु भइसकेको छ ।

यता भेडेटार होटल एशोसियशनका अध्यक्ष जितेन्द्र रुम्दालीको अनुभवमा भने सिजन सुरु भएपनि आउनु पर्ने जत्ति पर्यटक भेडेटारले पाएको छैन् । “कोरोनाले थला परेको भेडेटारको पर्यटनमा केही न केही सुधार आएको भएता पनि आउनु पर्ने जति पर्यटक आएका छैनन् ।” रुम्दालीले भने ।

आन्तरिक मात्रै नभएर भारतीय पर्यटकहरुको रोजाईमा पनि भेडेटार पर्नेगरेको छ । विराटनगरको रानी नाकाबाट भेडेटारको लागि निस्कने पर्यटकको संख्या निकै ठुलो हुने गरेको व्यवसायीहरु बताउँछन् ।

धार्मिक पर्यटनको लागि मात्र नभएर प्राकृतिको अनुपम स्वाद लिनका लागि पर्यटकहरुले भेडेटारलाई रोज्ने गरेका छन् । भेडेटारमा बुद्ध धर्मावलम्वीहरुका लागि सुर्योदय बुद्ध विहार, हिन्दु धर्मावलम्बीहरुका लागि पाथीभरा देवीको मन्दिरका साथै साहसिक पर्यटनका लागि पनि भेडेटार उत्तिकै राम्रो गन्तव्य मानिन्छ ।

साहसिक पर्यटनका लागि जिपलाईन, प्याराग्लाईडिङ्ग जस्ता गन्तव्य छन् । स्काईवाक निर्माण शुरु भईसकेको छ । यसको निर्माण सकिएर संचालनमा आउन साथ भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा भारीमात्रामा बृद्धि हुने पर्यटन व्यवसायीहरुको भनाई छ । भेडेटारमा साहसिक पर्यटनकै रुपमा हिलटप समेत घुमेर प्राकृतिक आनन्द लिन सकिन्छ । जसमा ध्वजे डाँडा, शैलुङ्ग डाँडा , ओख्रे जस्ता पहाडहरु छन् भने होमस्टेको आनन्द लिएर गाउँले वातावरणमा रमाउनेहरुका लागि नाम्जे होमस्टे पनि भेडेटार घुम्नै पर्ने पर्यटकिय गन्तव्य हो ।

त्यतिमात्रै नभएर नमस्ते झरनाले पनि उत्तिकै आन्तरिक र वाह्य पर्यटकलाई तानेको पाइन्छ । गर्मी महिनामा पर्यटकलाई आफुसम्म तान्न भेडेतारले जाडो महिनादेखिनै पर्यटक लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । यहाँको भेडेटार होटल एशोसियशनले हरेक बर्ष अंग्रेजी नयाँ बर्षको अवसर पारेर फुड फेस्टिवलको आयोजना गर्दै पर्यटकलाई आफ्नो पहिचान र गन्तव्यबारेको जानकारी गराउने गरेको छ ।