इटहरीः ट्राफिक प्रहरीले २४ घण्टाको अवधिमा ७ सय ४२ वटा सवारी साधनका चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा फेला पारी कारवाही गरिएको जनाएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय मातहतका कार्यालयले ती सवारी साधनका चालकलाई कारवाही गरिएको जनाएको हो ।
कार्यालयले दिएको जानकारीअनुसार शनिबार बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म गरिएको सवारीजाँचको क्रममा ती सवारी साधनका चालक कारवाहीमा परेका हुन् ।
कार्यालयका अनुसार सो अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३१ जना कारवाहीमा परेका हुन् । त्यस्तै मोटरसाइकलमा ३ जना सवार भएका १२ वटा मोटरसाइकलका चालक कारवाहीमा परेका छन् भने हेलमेट नलगाई मोटरसाइकल चलाउने १५ जना कारवाहीमा परेका छन् ।
क्षमताभन्दा बढी सामान राखी ढुवानी गर्ने ७१ जना सवारी चालक कारवाहीमा परेका छन् । सवारी चालक अनुमतिपत्र नबोकी सवारी चलाउने ३७ जना र सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी चलाउन दिने २५ जना कारवाहीमा परेका छन् ।
सो अवधिमा २३ जनालाई अव्यवस्थित पार्किङ गरेको अवस्थामा र ८ जनालाई पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेको अवस्थामा कारवाही गरिएको कार्यालयले जनाएको छ । ४८ जनालाई सवारी साधन रोक्न निषेध गरिएको स्थानमा रोकेको आधारमा कारवाही गरिएको बताइएको छ ।
त्यस्तै, सुरक्षा पेटी नबाँधी सवारी चलाउने २३ जना, कागजपत्र साथमा नबोक्ने १ सय ६७ जना र बत्तीको अवस्था ठीक नभएका १८ वटा सवारीलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।
हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ९ जना, लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने १ सय ८२ जना, तीव्र गतिमा सवारी चलाउने २ जना र सार्वजनिक यातायातको ढोका खुला राखी सवारी चलाउने ३३ जनालाई कार्यालयले कारवाही गरेको जनाएको छ ।
सवारी चालकका लागि समयसमयमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ ।