इटहरीः भेडेटारबाट राजारानी जाने उकालो लाग्नै लाग्दा होटल लावती कर्नर पुगिन्छ । लावती कर्नरको छेउमै सानो झुपडी पनि छ । हो, त्यहि झुपडी भेडेटारको इतिहास हो भन्दा अत्तियुत्ति हुँदैन् । मानव सभ्यताको विकास सँगै संरचनाहरु ठुला बन्न थाले, कँक्रिट गर्न थालियो अनि बडेमानका संरचनाहरु निर्माण गर्न थालियो । मान्छेलाई कृतिम सुन्दरतामा रमाउने बानी भएपछि ठुला ठुला सुविधा सम्पन्न भवनहरु बन्न थाले हो त्यहि विकास हो । भेडेटारमा भएको यो विकासको साक्षी हुन् लिलाराज लावती जो भेडेटारको होटल लावती कर्नरका संचालक पनि हुन् ।

धनकुटा जिल्लाको भेडेटारमा जन्मेर त्यहिँ हुर्केका लावती पछिल्लो समय भेडेटारमा भएको विकासका साक्षी समेत हुन् । पहिला पहिला धरानेहरु बनभोज अर्थात विकसित भाषामा पिकनिक खानका लागि भेडेटार पुग्नेगर्थे । विस्तारै त्यहाँको सुन्दरताको वयानगर्नेहरु बढ्दै गए । प्राकृतिक आनन्दमा रम्नेहरुले भेडेटारको महत्वलाई चिन्दै गए अनि अहिले भेडेटार प्रदेश एककै लागि हिरा बनेको छ पर्यटनका हिसावले हेर्ने हो भने ।

तत्कालिन भेडेटार गाउँपञ्चायतको माल्बाँसे भन्ने ठाउँमा २०३४ सालमा जन्मेका लिलाराज लावती हुनलाई लाहुरेका छोरा हुन् । लावतीका वुबा १९६० मा १० बर्ष ब्रिटिस लाहुरे खाएर पेन्सनमा निस्किएका थिए । भेडेटारमै ठेकेदारी काम गर्ने क्रममा विवाह भएपछि लिलाराजको जन्म भएको रहेछ । कालिका प्रावि देवि स्थानबाट प्राथमिक शिक्षा अनि जनता निमावि नाम्जेबाट निम्नमाध्यमिक शिक्षा र धरानको फुस्रेमा रहेको पव्लिक माविबाट एसएलसी सम्मको शिक्षा सकाएका लिलाराज पहिलेदेखि सामाजिक सेवामा रुचि राख्ने व्यत्तित्व हुन् ।

275478118_752748785695091_295266740295454131_n

एसएलसी सकाएपछि लिलाराजले धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तहको पढाई गरेका रहेछन् । लाहुरेको छोरा लाहुरे त बन्नै पर्छ भन्ने मान्यता थियो । अनि एक हिसावले लाहुरेहरुको जीवनशैलीबाट मोहित थियो समाज पनि त्यहि विँडोलाई धान्न पनि लिलाराजले २ पटक सम्म लाहुरे बन्ने प्रयास गरे तर सार्थक हुन सकेन् । सार्थक भईहालेको भएपनि हुने त खासमा केही होइन् यतिवेला उनिपनि पेन्सन खाँदै हुन्थे, पैसाको केही रवाफ हुन्थ्यो तर समाजले जति चिनेको छ त्यत्ति चिन्ने थिएन ।

युवा अवस्थामा मन चल्चल भइनै रहन्छ के गरौँ , कसो गरौँ अनि कसरी गरौँ ? यस्तै बिचार आइरहँदा लिलाराजलाई पनि एक पटक विदेश जाने मन आएको थियो अनि मलेसिया हाँकिएका थिए । घरमा खाइखेली बसेको छोरो विदेश त्यत्ति कहाँ सजिलो छ र ? निकै गाह्रो भयो, अर्काको आदेशका भरमा खट्नु पर्ने मन अड्याउन सकेनन् लावतीले अनि ६ महिनामै देश फर्किएर आए ।आखिर देश भनेको देश नै हो । विदेशमा जे गर्न सकिँदैन देशमा धेरै गर्न सकिन्छ ।

आमा रेखा कुमारी सुव्वाले पहिलेबाटै आफ्नो सानो झुपडीबाट रक्सि, चिया, नास्ता बेच्न थाल्नु भएको थियो । भेडेटारमा विस्तारै पर्यटकहरुको चाप बढ्दै गएपछि त्यहि चिया, नास्ता र रक्सि बेच्ने पसलहरु होटलको आकारमा परिणत हुँदै गए ।

पर्यटकहरुले के मन पराउँछन् भनेर भेडेटारमा कटेज बनाएर पर्यटकलाई छुट्टै बस्ने र मनोरम दृष्यको अवलोकन गर्ने सिस्टम उनै लिलाराजका बाबुले शुरु गरेका हुन् । अहिले कटेजको चलन निकै बढेको छ र विकसित भएको छ । एक हिसावले लिलाराजको झुपडी पहिले देखि नेताहरु आउने , बस्ने खाने जक्सनको रुपमा विकास हुँदै गएको थियो । समाजसेवी लिलाराजका बुवाले नाम्जेमा सैलुङ्ग बहुउदेश्य सहकारी संस्थाको स्थापना गरेका थिए । अहिले देशमा सहकारी संस्थाहरुको आँधी नै छ तर सैलुङ्गको पहिचाहन आफ्नै हिसावको छ ।

लिलाराजले देशमा रोजगार गरेकै छैनन् तर दिन दुखिलाई सहयोग गर्दै गाउँ गाउँ हिडेको देख्दा लाग्छ उनि काम गर्दैछन् , तर त्यो त निश्वार्थ समाजसेवा मात्रै हो ।
लिम्बुको छोरो भएको हिसावले पहिचानको राजनिति गर्दै गर्दा लिलाराजका वुवा लिम्बुवान साँगुरीगढी गाउँपालिकाको नेतृत्व गर्दै थिए । आमा रेखा भने औपचारिक शिक्षा नभएपनि कुने बेला वडा सदस्यसम्म भएर जनताको सेवामा खटेकी थिइन् ।

कुनै बेला भेडेटारमा ५/६ वटा होटलहरु थिए अहिले एक सयको हाराहारीका सुविधा सम्पन्न होटलहरु खुलेका छन् तर पर्यटकको चाप उत्तिकै छ । प्रदेश एककै हिलस्टेसनको रुपमा चर्चित भेडेटारलाई विकसित गर्नुपर्छ भनेर सुरुदेखि नै आवाज बुलन्द गर्नेहरुको सुचिमा पर्छन् लिलाराज लावती ।

273897840_375783834182776_2435720254651465468_n

कुनै बेला भेडेटार होटल एसोसियसन्को अध्यक्ष बनेर भेडेटारका होटलहरुलाई एकवद्ध गर्ने देखि लिएर हरेक अंग्रेजी नयाँ बर्षमा फुड फेस्टिवल गर्ने साथै भेडेटारमा स्काई वाक बनाउने कुरामा पहल गर्ने , जिपलाईन, रक क्लाईम्बिङ्ग, क्यानोइन्ग जस्ता काममा समेत गर्नुपर्छ यस्तो गरौँ भनेर आवाज उठाउने काममा लागिरहने व्यक्तित्व हुन लावती ।
राजनैतिक हिसावमा जनता समाजवादी पार्टीको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष समेत हुन लिलाराज । कुने बेला बामपन्थी राजनितिमा रहँदा नेकपा मालेमा सक्रिय लावती अहिले आएर भारतमा आम आदमी पार्टीका अरविन्द केजरीवालको विकास मोडलका फ्यान हुन् । भेडेटारलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने खोजमा रहेका लावती भेडेटारले आफुलाई आवश्यक पर्ने उत्पादन यही गर्न सक्नुपर्छ भन्ने धारणा राख्छन् ।

भेडेटार पर्यटनमात्रै होइन कृषिमा पनि उत्तिकै अगाडी छ भन्ने लावतीले साँगुरीगढीमा धान , कागती र सिजनेवल फलफुलमा आत्मनिर्भर हुन सक्ने सम्भावना रहेको बताए । अदुवा, बेसार जस्ता उत्पादनहरुले बजारमा उचित मुल्य नपाईरहेको अवस्थामा चिस्यान केन्द्र बनाएर यस्ता उत्पादनहरुलाई राख्न सके उचित मुल्य भएको बेला बेच्न सकिने जसले किसानलाई फाइदा हुने लावती बताउँछन् ।

लोकतन्त्रमा सरकारहरु बदलिए तर जनताले के पाए त ? अनि परिवर्तन के आयो त भन्ने कुरामा चिन्तित लिलाराज ९० प्रतिशत जनतालाई कृषिमा लाग्न अभिप्रेरित गर्न सके र नाम्जे र भेडेटारलाई चिटिक्क पारेर पर्यटक तान्न सके साँगुरीगढी गाउँपालिकाकै मुहार फेरिनेमा विश्वस्त छन् । जिन्दगीलाई एउटा सिकाई प्रक्रियाको संज्ञादिने लावती रंगमन्चमा आएपछि भोगाई र संघर्षसग जिन्दगीलाई जोड्नु पर्ने बताउँछन् ।

IMG_9396

एउटी छोरीका पिता लिलाराजले आफ्नी छोरीलाई काठमाण्डौको जेम्स स्कुलमा ए लेभलको अध्यापन गराउँदैछन् भने आफु होटल व्यावसायीको रुपमा भेडेटारमै छन् । आमाको पहिलेको पेशालाई निरन्तरता दिने क्रममा लिलाराजले २०६० सालतिर होटल विल्डिङ्ग बनाएका रहेछन् । ११ वडा कोठाको होटल लावती कर्नरमा ७ जनाले रोजगार पाएका छन् ।

होटलको छेवैमा लामो टेरास बनेको छ । त्यहि टेरासमा लिलाराजले मासु पोलेर खाँदै डाडाँ पाखाको सुन्दरता अवलोकन गर्नेहरुको तिर्खा मेटाइरहेका छन् । उता लामो टिकटक ब्रिज बनाउने लिलाराजको योजना मोवाइलमा देखियो , चाँडै नै होटललाई व्यावस्थित बनाउने क्रममा एउटा सेमिनार हल निकाल्ने, बच्चाहरुलाई खेल्ने किन्डर गार्डेन बनाउने साथमा फिट्नेस चाहाने ग्राहकहरुलाई ओपन जिम सहितको संरचना निकाल्ने योजनामा रहेछन्, लिलाराज ।

IMG_9399