बराहक्षेत्रः आगामी स्थानीयतहको चुनाव नजिकिँदै गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिकाका नेताहरुमा सगर्मी सुरु भइसकेको छ । ०७४ सालको स्थानीय चुनावमा जीत हासिल गरेको नेकपा एमाले यसपटक पुनः आफ्नो बिरासत बचाउने प्रयत्नमा देखिएको छ ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निलम खनालले १४ हजार ४ सय ४६ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार बाबुराम बिष्टले ११ हजार ४ सय ८९ मत प्राप्त गर्दै पराजित भएका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार कमल बहादुर कट्वालले २ हजार ७ सय ३८ मत पाएका थिए । यसलाई नियाल्दा यसपटक नेपाली कांग्रेसको चुनावी तालमेल नभए एमालेलाई सहज हुने अबस्था देखिन्छ ।
एमाले बराहक्षेत्रभित्र वर्तमान मेयर निलम खनाल पुनः दोहोरिने चर्चा सुरु भएसँगै अन्य नेताहरूले समेत आफ्नो दाबेदारी रहेको बताउँन थालेका छन् । एमाले बराहक्षेत्रभित्र खनाल बाहेक पनि क्रियाशील, सक्षम तथा योग्य नेताहरू हुँदाहुँदै पुनः निलम खनाललाई मौका दिनु गलत हुने एमालेकै स्थानीय अन्य नेताहरु बताउँछन् । उनले पार्टीभित्र गम्भीर समिक्षा गरेर योगदान र सक्षमताको आधारमा मूल्यांकन गर्नुपर्ने तर्क गरेका छन् ।
कोको हुन् त एमालेबाट मेयरका आकांक्षी ?
निलम खनाल
नेकपा एमाले सुनसरी जिल्ला उपाध्यक्ष निलम खनाल बराहक्षेत्र नगरपालिकाका प्रथम मेयर हुन् । नेकपा एमाले बराहक्षेत्रभित्र शसक्त उमेदवारको रूपमा चर्चा हुने गरेका खनाल पुनः नगरपालिकाको मेयरमा उठ्ने दाउमा छन् । पुनः मेयरको टिकटका लागि उनले आफ्ना सबै खालका पावर पार्टीको उपल्लो तहमा लगाईसकेको एमाले जिल्ला स्रोतको भनाई छ ।
बद्रीनाथ घिमिरे
साविक महेन्द्रनगर गाविसका पूर्व अध्यक्ष बद्रीनाथ घिमिरे एमालेभित्र इमानदार नेताको छवि भएका नेता हुन् । गत स्थानीय चुनावमा समेत आफूलाई उमेदवारको रूपमा प्रस्तुत गर्न चाहेका नेता घिमिरे यसपटक भने पार्टीले आफ्नो मूल्यांकन गर्नुपर्ने अडानमा छन् । पार्टीभित्र प्रदेश सदस्य र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ इन्चार्ज समेत रहेका नेता घिमिरे मदन भण्डारी फाउन्डेसन, बराहक्षेत्र अध्यक्ष पनि हुन् ।
राजेन्द्र कार्की
पछिल्लो समय पार्टीभित्र युवा पुस्तालाई समेट्न सिपालू नेताका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका राजेन्द्र कार्की यसपटक बराहक्षेत्र नगरको मेयरमा आकांक्षा रहेको बताउँछन्न्। नेता कार्की एमाले बराहक्षेत्रका सचिव हुन् ।
डिबि शाहशंकर
नेकपा एमालेको केन्द्रिय लेखा आयोग सदस्य डिबी शाहशंकरको नाम पछिल्लो केहि समययता चर्चामा रहेको छ । योग्यता र सक्षमताको आधारमा पार्टीले मूल्यांकन गर्दैगर्दा शाहशंकरको नाम पनि छुटाउनै नहुने नाम भएको एमाले निकट नेताहरू नै बताउँछन् ।
राजु अधिकारी
बराहक्षेत्र नगरपालिका ५ का वर्तमान वडा अध्यक्ष नेता अधिकारी पार्टीभित्र बिद्रोही नेताका रूपमा चिनिन्छन् । पार्टीभित्र विधि र बिधान अनुसार मूल्यांकन हुनेपर्ने माग गर्ने नेता अधिकारी गलत क्रियाकलाप विरुद्ध सधै आवाज बुलन्द गर्ने गर्दछन् । हुन त यसपटकको स्थानीय चुनावमा पुनः ५ नम्बर वडाकै अध्यक्षका रूपमा उनको नाम चर्चामा नआएको भने होईन् । यद्यपि उनले प्रदेशपोर्टलसँगको कुराकानीमा मेयरमा आकांक्षी रहेको संकेत गरेका छन् । उनले भनेका छन्, पार्टीभित्र सबैको‘लेभल’ बढ्ने हो भने मेरो पनि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।