इटहरीः कोरोनाले थला परेको पर्यटन व्यवसायमा इटहरीमा यहि चैत्र १९ गते देखि २६ गते सम्म आयोजना हुने अन्तराष्ट्रिय आमन्त्रण १२ औ कन्ट्रोल इटहरी गोल्डकप फुटवल प्रतियोगिताले यहाँका होटल व्यवसायीमा आशाको सञ्चार गराएको छ ।

इटहरीको राष्ट्रिय जागृति क्लवको आयोजनामा हुन गइरहेको फुटवल प्रतियोगितामा भारत र क्यामरोन सहित ८ वटा खेल समुहबिच प्रतियोगिता हुने भएको छ । खेल पर्यटनले पर्यटनमा थप आशाको सञ्चार गर्ने भन्दै होटल व्यवसायीले इटहरीलाई केन्द्र बनाएर खेलकुद प्रतियोगिताहरु सञ्चालन हुनु इटहरीको पर्यटनका लागि खुसीको खवर भएको बताएका छन् ।

होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले खेल आफैँमा राम्रो भएकाले इटहरीमा फुटवल प्रतियोगिता आयोजना हुनु पर्यटनका लागि राम्रो भएको बताए । इटहरीमा फुटवल प्रतियोगिता हुनु दर्शकको लागि, खेलाडीका लागि र आयोजकका लागि समेत खुसीको खबर भएको पराजुलीले बताए ।

इटहरीमा छोटो समयमै राम्रो रंगशाला निर्माण भएको भएता पनि अझै फुटवल प्रेमी दर्शकहरुको कमि रहेको बताउँदै पराजुलीले इटहरीलाई एउटा खेलमय बनाउन सके होटल व्यवसायीमात्रै नभई यहाँका समग्र व्यवसायीका लागि राम्रो हुने विचार व्यक्त गरे । खेलाडीहरुलाई उच्चस्तरीय होटलहरुमा राख्न र खेलपछि खेलाडीले इटहरीका होटलको बारेमा राम्रो सन्देश दिने खालको वातावरण बनाउन होटल व्यावसायी पराजुलीले आयोजकलाई आग्रह समेत गरे ।

गोल्डकपको लागि राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीहरु इटहरीमा भेला हुने भएकाले इटहरीको इज्जत रहने गरी राम्रो सेवा दिएर खेलाडी र दर्शकलाई पनि खुसि पार्दै इटहरीको पर्यटनलाई अझ माथि लैजान सकिने पराजुलीले बताए ।

“ कोरोनाले थिलो पारेको समयमा आयोजना हुन लागेको इटहरी गोल्डकपले इटहरीको पर्यटनमा सहयोग गर्ने आशा त हामीले गरेका छौ । खेलाडीहरुलाई स्तरीय होटलमा राख्नुपर्यो । स्तरीय सेवा दिनुपर्यो । इटहरीमा पनि राम्रा होटल रहेछन् भन्ने सन्देश उनिहरुमार्फत दिनसक्नु पर्छ ।” पराजुलीले थपे । इटहरीमा फुटवल आयोजना हुनु इटहरीको पर्यटनका लागि राम्रो भएको र यसले पर्यटन क्षेत्र माथि जानेमा आशाको सञ्चार गरेको उनको भनाई थियो ।

त्यसैगरी पर्यटनर्मी एंव इटहरीको प्रिमियर होटलका संचालक सुनिल भुषालले खेलपर्यटनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले खेलाडीहरु खेल्न आउने भएपनि साँझ विहान खाना खान र खेलीसकेपछि आसपासका पर्यटकीय गन्तव्यमा घुम्न जाने भएकाले पर्यटकनको प्रवद्र्धन हुने बताए ।

“ टुरिजम डेभलपमेन्टमा खेल महत्वपुर्ण हो यसले अन्तराष्ट्रिय हिसावमा पनि मुभमेन्ट बढाउँछ र आन्तरिक पर्यटनमा सहयोग पर्छ यसलाई सम्झेर होटलहरुले बेष्ट सर्भिस दिन सक्यो भने त्यो खेलाडीले साथीभाई र आफन्तलाई अर्को पटक रिफर गर्छ ।” भुषालले भने । खेलले पर्यटनलाई बढाउने भएपनि सर्भिसको गुणस्तरलाई भने जोड दिन भुषालको पर्यटन व्यवसायीलाई आग्रह छ ।

कोरोनाको प्रभाव कम भएसँगै पर्यटकको मुभमेन्ट बढेको र अत्राष्ट्रिय भन्दा पनि आन्तरिक पर्यटकको सख्यामा वृदि भएको भुषालले बताए । पछिल्लो समय कन्याम, भेडेटार र पोखरामा पर्यटकको चाप बढ्नुका साथै ट्रेकिडका लागि पर्यटकहरु आइरहेको उनले प्रदेश पोर्टलसँग बताए ।

उता इटहरीका होटल व्यावसायी, होटल बरण्डाका प्रबन्ध निर्देशक सिदार्थ श्रेष्ठले २ बर्षदेखि अप्ठयारो अवस्थामा रहेको होटल व्यावसायमा खेल पर्यटनसँग सम्बन्धित गतिविधि बढ्नु राम्रो सन्देश भएको उल्लेख गरे । उनले खेल पर्यटनले होटल व्यवसाय पनि राम्रो सँग चल्न सक्ने र पर्यटनलाई अप्ठ्यारो अवस्थाबाट माथि लान सहयोग गर्ने भनाई राखे । पछिल्लो समय आन्तरिक पयर्टन बढेको साथै एनजिओ आइएनजिओ अरुका मिटिङ्ग बैठकहरु पनि बढ्न थालेकाले पर्यटनलाई बढावा मिलेको श्रेष्ठको भनाई छ ।

उता इटहरीका अर्का होटल व्यसायी विश्वराज धिमालले खेल पर्यटन आफैँमा राम्रो भएकाले इटहरीमा भीड बढ्ने गरी आयोजना हुन लागेको इटहरी गोल्डकपले आशा जगाएको भनाई राखे । आफैँ पनि भलिवलका पुर्व खेलाडी रहेका धिमालले ३ बर्ष अघिमात्रै इटहरीको आइतबारेमा होटल सञ्चालन गरेर बसकेका छन् । धिमालले होटल संचालन गरेको ६ महिना हुँदादेखि कोरोनाको प्रभाव परेको हुँदा होटल व्यवसायमा नराम्रो असर गरेको बताए ।

भारतको आसाम, सिक्किम, बिहार जस्ता ठाउँबाट एकादुई पर्यटक भित्रिन थालेको धिमालले बताए । पहिला पनि आन्तरिक खेलाडीहरु आफ्नो होटलमा आइरहने बताउँदै धिमालले होटलले कति सुविधा दिन सक्ने भन्ने बिषयमा पनि गम्भिर रहेको बताए । इटहरीको आइतबारेमा क्यान होटल एण्ड लज सञ्चालन गरिरहेका धिमालले इटहरी खेलमय बने होटल व्यवसाय आफैँ माथि उक्सिने भनाई राखे ।