इटहरीः प्रहरी जवान उर्मिला श्रेष्ठलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको अभियोगमा बिद्यार्थी सहित ४९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा ४९ जनालाई पक्राउ गरेको जनाएको छ ।

गत चैत ६ फागु पुर्णीमाको दिन आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रुप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो भने २९ जना प्रहरी घाइते भएका थिए ।

प्रहरीले घटनामा संलग्न भएकोे आरोपमा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये २० जनामाथि प्रहरी जवान श्रेष्ठको हत्या अभियोगमा अनुसन्धान भइरहेको र बाँकी माथि अभद्र व्यावहार सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङको भनाई छ ।

उता घटनाको मुल जड बनेका कक्षा ७ मा पढ्ने छात्रालाई दुव्र्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेलमाथि प्रहरीले जवरजस्ती करणी उद्योगमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

276042063_334515128708992_9159968786029146380_n 1

शिक्षक पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी चैत ६ गते विद्यालय प्रशासनमा परेपछि छलफलका विद्यालय व्यवस्थापन समिति र नगरपालिकाका पदाधिकारी सहित विद्यालयमा पुगेका थिए ।

शिक्षक पौडेलले पहिलो पनि यस्तै गतिविधि गरेको र पटक पटक यौन दुव्र्यवहार गर्ने शिक्षकलाई जोगाउन खोजेको भन्दै विद्यार्थी र अभिभावकले आन्दोलन सुरु गरेका थिए । दिउँसो करिब साढे १२ बजेबाट सुरु भएको आन्दोलनले उग्र रुप लिँदा साँझ करिब साढे ७ बजे प्रहरी जवान श्रेष्ठको हत्या भएको थियो । आन्दोलनकारीले विद्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका थिए ।

घटनाको अनुसन्धानको लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन टोली गठन गरेको छ । टोलीमा पाँच जना सदस्य छन् ।

प्रहरीका अनुसार हत्या अभियोगमा लेटाङ नगरपालिका–५ का ४८ वर्षका चन्द्र तामाङ भन्ने चन्द्रकान्त लामा, २५ वर्षका रविन राई, २० वर्षका रविन तामाङ, लेटाङ–६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ–५ का २३ वर्षीय प्रदिप राई पक्राउ परेका छन् ।

त्यस्तै १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर, मिक्लाजुङ गाउँपालिका २ घर भई लेटाङ– ५ बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ–५ का सञ्जीव प्रधान, प्रनिश कट्टेल, जस्वीन पाख्रिन, शनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादव पनि पक्राउ परेका छन् ।

तीमध्ये केही सोही स्कुलका विद्यार्थी हुन् भने बाँकी केही स्थानीय परेका छन् । घटनामा आवद्ध केहि फरार समेत रहेको प्रहरीको भनाई छ । केहि लागु औषध प्रयोगकर्ताहरु समेत घटनामा संलग्न रहेको र उनिहरु जंगलको बाटो हुँदै फरार भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।