काठमाडौंः कोरोनाको कारण सुस्ताएको नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्धनको लागि यही १६ चैतबाट काठमाडौंको भृकुटी मण्डपको बगैंचामा ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ १६ हुने भएको छ । यो प्रतियोगिताको आयोजना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गर्न लागेको हो । सो प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी प्रतियोगिताको तयारी भईरहेको जानकारी गराएको छ ।

कार्यक्रमबारे उनले पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले भने,‘ प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका करिब ७० वटा टोलीले सहभागिता जनाउने भएका छन् । १६ चैतबाट २० चैतसम्म काठमाडौंको भृकुटी मण्डप स्थित बगैंचामा यो प्रतियोगिता हुने भएको छ ।’ उनले भने,‘पहिलो दिन दिउँसो उद्घटन सत्र १ बजेबाट सुरु हुने छ र उद्घाटनपछि नै प्रतिस्पर्धा सुरु हुनेछ । यो प्रतियोगिता बाँकी तिन दिन बिहान नौ बजेदेखि बेलुका ७ बजेसम्म जारी रहने छ ।’ पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बिजीले प्रतियोगितामा दर्शकलाई यसपटक निशुल्क प्रवेशको व्यबस्था गरिएको पनि बताए ।

यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्नेछन् ।

सो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ । यस्तै उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जिल्ला जिल्लाबाट आएका लोक दोहोरी टोलीलाई आफुहरु सहयोगी मार्फत काठमाडौंमा बस्ने व्यबस्था मिलाएको पनि अध्यक्ष बिजीले जानकारी गराएका छन्,‘प्रतियोगितामा आधा जसो टोली काठमाडौंकै भए पनि आधा टोली बाहिरबाट आउनु भएको छ । उहाँहरुलाई भोजन तथा बासको लागि सहयोगीहरुसँग अनुरोध गरिरहेका छौं ।’ अध्यक्ष बिजीले भने ।

आयोजक संस्थाका अध्यक्ष रमेश बिजीले सभ्य र भव्य रुपमा यो प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी सो पत्रकार भेटघाटका क्रममा गराएका छन् । यसपटक यो प्रतियोगितालाई भव्य र सभ्य बनाउन उत्छृङखल तथा अस्लिल अर्थ लाग्ने शब्दहरु गायनको क्रममा प्रयोग गर्न रोक लगाईएको बताउँदै अध्यक्ष बिजीले भने,‘दोहोरी साह्रै फोहोरी भयो भनेर सर्वत्र टिप्पणी आउन थालेकाले दोहोरी सभ्य पनि हुन्छ भनेर यसपटक हामीले यो प्रतियोगितामा सभ्य रुपमा दोहोरी प्रस्तुत गर्न लगाउने छौं ।’ अध्यक्ष रमेश बिजीले पत्रकार भेटघाटका क्रममा भने ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा सँरक्षक अग्रज लोक तथा दोहोरी गीत गायक चन्द्र शर्माको सँयोजकत्वमा रहेको निर्णायक टोलीले प्रतियोगीहरुको गीत सुनेर निर्णय गर्नेछ ।

सो कार्यक्रममा पत्रकार ऋषी धमलाले शहर देखि गाउँसम्म लोकदोहोरीको राज अहिले रहेको छ भने । यस्तै अग्रज संगीतकार तथा लोक दोहोरी गायक नारायण रायमाझी पूर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मालगायतले पनि दोहोरी गायन प्रतियोगिताको महत्वबारे कार्यक्रममा प्रकाश पारे । उनीहरुले यस्ता प्रतियोगिताले नयाँ नयाँ प्रतिभालाई दोहोरीमा राष्ट्रिय स्तरमा आउन मद्धत पुग्ने बताए ।