इटहरीः १२ औ संस्करणको इटहरी गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र आयोजक राष्ट्रिय जागृति भिड्ने भएका छन् । इटहरी रंगशालामा चैत्र १९ गतेबाट हुने प्रतियोगितामा घरेलु टोलीले उपाधिको दावेदार आर्मीलाई पहिलो खेलमा प्रतिद्धन्द्धी पाएको हो ।

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङदी क्लब, न्युरोड टिम (एनआरटी), रोलिङ क्लब झापा, सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुँदैछन् ।

प्रतियोगितामा पाहुना टोलीको रूपमा कञ्चनजंघा एफसी भारत र एभरनिर एफसी क्यामरुनको सहभागिता रहने छन् । चैत २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर र उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलइडी टिभी हात पार्नेछ ।

प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद १० हजार र विधागत उत्कृष्टलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ । यसअघि २०७५ माघ १२ देखि १९ गतेसम्म इटहरी रंगशालामा मदन भण्डारी इटहरी गोल्डकप संचालन भएको थियो । प्रतियोगितामा मनाङलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।