इटहरीः नेपाली सेनाले ४ हजार जना सैन्यको माग गर्दै सैन्य पदमा स्थायी पदपूर्तीका लागि दरखास्त आह्वान गरेको छ । सेनाले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।

कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ । हाल सैनिक सेवामा तल्लो पदमा कार्यरतको लागि भने उमेर हद २६ बर्ष सम्म तोकिएको छ ।

खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी/जनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, आदिवासी/जनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ ।

४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

सैन्य पदका लागि शारिरीक योग्यता पनि कायम छ । पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० केजी हुनुपर्नेछ । महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने छ ।