इटहरीः दुई दिन अघि इटहरी उपमहानगरपालिका वडा नम्बर २ नवजागृति टोलमा बम बिस्फोट गराउन घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी बम बिस्फोटमा संलग्न मुख्य योजनाकार झापा जिल्लाको कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने खगेन्द्र खरेलसहित ४ जनालाई सार्वजनिक गरेको हो ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले हिमाल सुरक्षा परिषदका केन्द्रिय नेताको रुपमा चिनिएका खगेन्द्र खरेल मुख्य नाइके मानिएको बताएका छन् ।

बिस्फोटमा इटहरी २ मा कोठाभाडामा बस्दै आएकी ३२ बर्षीया लक्ष्मीदेवी थापा र उनका छोरा  रबिन थापा र उनकै कोठामा पाहुँना आएका लमजुङ जिल्लाको ढोडेनी गाउँपालिका वडा नम्बर ७ का २३ वर्षीय शेरजंङ गुरुङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना हुन साथ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काको नेतृत्वमा गएको प्रहरी टोलिले घटना स्थलबाट सुत्ली बमको लागि प्रयोग भएको सामाग्री सहित हिमाल सुरक्षा परिषदको पर्चा, सिएफएन लेखिएको सदस्यता कार्ड सहित बिभिन्न सामाग्री बरामद गरेको थियो ।

उनीहरूमध्ये खरेल मुख्य योजनाकार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी थापाले बताए । योजनाकारलाई प्रहरीले बिहीबार झापाको मेचीनगर ६ स्थित नेपाल–भारत सिमाना बाट पक्राउ गरेको एसपी थापाले बताए ।

मुख्य योजनाकार सञ्जय भनिने खगेन्द्र खरेल यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा जेल चलान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।

‘यसअघि पनि बिस्फोटक पदार्थ तथा संगठित अपराधमा संलग्न भएको अभियोगमा दुई वर्ष पाँच महिना सजाय भुक्तान गरी छुटेको प्रहरीले बताएको छ । गत चैत्र १४ गते राति इटहरी २ स्थित नवजागृति टोलका अमित श्रेष्ठको घरको तल्लो तलामा बम बिस्फोट भएको थियो ।

घटनामा इलाका प्रहरी कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, संघीय प्रहरी इकाई कार्यालय धरान, प्रदेश १ प्रहरी (आरआइटी) समूह र जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई सुनसरी जिल्ला अदालतबाट बम बिस्फोटन र संगठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।