इटहरीः ललितपुरको सातदोवाटोमा सञ्चालन भएको सत्रौँ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रदेश एकले बिभिन्न चौध वटा अवार्डहरु हात पारेको छ ।

गत फागुनमा प्रदेश स्तरीय तेक्वान्दोमा छनौट भएका खेलाडी टोलीले यहि चैत्र १८ र १९ गते शुक्रबार र शनिवार आयोजना भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगिताबाट प्रदेश एकका खेलाडीले २ वटा गोल्ड, २ वटा सिल्भर र १० वटा ब्रोन्ज मेडल प्राप्त गरेका छन् ।

प्रदेश एकबाट महिला जुनियरमा ४४ केजी तौल समुहकी रेश्मा भुजेल र पुरुष जुनियर तर्फका खेलाडी ४८ केजी तौल समुहका सुगन थापाले गोल्ड मेडल प्राप्त गरे भने पुरुष सिनियर तर्फबाट ७४ केजी तौल समुहका जिवन कुमार तामाङ्ग र पुरुष जुनियर तर्फका ५४ केजी तौल समुहका सुरेश लिम्बुले सिल्भर मेडल प्राप्त गरेका छन् ।

यसैगरी तृतीय अर्थात ब्रोन्ज मेडल प्राप्त गर्ने १० जना खेलाडी रहेका छन् । सत्रौँ राष्ट्रिय तेक्वान्दोको तर्फबाट ब्रोन्ज मेडल प्राप्त गर्नेमा महिला सिनियर तर्फ ५७ केजी तौल समुहकी समिक्षा लिम्बु, ७३ केजी तौल समुहकी निर्जला गुरुङ्ग, र ८० केजी तौल समुहकी सिर्जना तामाङ्ग छन् । पुरुष सिनियर तर्फ ८७ केजि तौल समुहका युकेश भट्टराई, ६३ केजी तौल समुहका प्रवेश चापाँगाई, र ५४ केजी तौल समुहका शिव खड्का रहेका छन् ।

उता महिला जुनियर तर्फका खेलाडीहरु ४९ केजी तौल समुहकी सन्जु विक, ५५ केजि तौल समुहकी रेनुका विक, ६३ केजी तौल समुहकी विनिता माझीले पनि तृतीय श्रेणी अर्थात ब्रोन्ज मेडल हात पारेका छन् । पुरुष जुनियर तर्फका खेलाडी सिदार्थ प्रद्यानले पनि तृतीय श्रेणी अर्थात ब्रोन्ज मेडल हात पारेका छन् । सिदार्थ ६३ केजी तौल समुहमा प्रतिस्पर्धा गरेका थिए ।

सत्रौँ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गएका खेलाडीहरुलाई राम्रो प्रशिक्षणको अवसर प्राप्त भएकोले नतिजा राम्रो आएको नेपाल राष्ट्रिय तेक्वान्दो संघ प्रदेश एकका अध्यक्ष शैलेश कुमार बिष्टले बताए । आगामी खेलमा खेलाडीलाई अझ राम्रो सिकाई अवसर प्रदान गरेर धेरै मेडल प्रदेशमा भित्राउन आफुहरु कटिवद्ध रहेको बिष्टले बताए ।

तेक्वान्दो एकेडेमी हल ललितपुरमा आयोजना भएको खेलमा देशभरीका ७ वटै प्रदेशबाट ३ सय खेलाडीको सहभागिता भएको थियो । खेलाडीहरुले २६ गोल्ड, २६ सिल्भर र ५२ ब्रोन्ज मेडलका लागि प्रतिस्पर्धा गरेका थिए ।यसैबिच नेपाल राष्ट्रिय तेक्वान्दो संघले प्रदेश एकका अध्यक्ष शैलेश कुमार बिष्टलाई सम्मान समेत गरिएको छ ।