इटहरीः २३ औ संस्करणको बुढासुब्बा गोल्डकप आगामी चैत्र २६ गतेबाट बैशाख ३ गते सम्म गर्ने आयोजकहरुको तयारी छ । आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन नै गरेर प्रतियोगिताको मितिको बारेमा जानकारी गराएको हो । तर आजको मितिसम्म प्रतियोगिता हुने देखिदैन् । जसको मुख्य कारण हो आयोजकले अघिल्लो संस्करणको पुरस्कार दिन नसक्नु । २०७६ सालको २२ औ संस्करणको प्रतियोगिता मनाङ मस्र्याङदी क्लबले जितेको थियो । बिजेतासंगै मनाङले १० लाख रुपैया र रनिङ शिल्ड प्राप्त गरेको थियो । तर आयोजकले पुरस्कार रकम दिन नसक्दा प्रतियोगिताको ट्रफी फिर्ता ल्याउन सकेको छैन् ।

पुरस्कार नपाउन्जेल ट्रफी फिर्ता हुँदैन्ः गुरुङ

मनाङका अध्यक्ष मुखिया गुरुङले २ बर्ष वितिसक्दा पनि पुरस्कार पाउन नसकेको बताए । प्रदेश पोर्टलकर्मीको पुरस्कार रकम पाए यो पटक सहभागि हुनुहुन्छ भन्ने प्रश्नमा गुरुङ भन्छन् ‘सहभागी हैन कप नै हामी संग छ ।रनिङ कप हो हामीले पुरस्कार पाए कप दिने हो सहभागि हुने नहुने पछिको कुरा हो ।’

उनले सहभागिता जनाउने बारेका सुनिश्चित नभएको बताए । मनाङले मात्र हैन् उपविजेता बनेको नेपाल पुलिसको पुरस्कार समेत आयोजकले दिन सकेको छैन् । पुलिसले उपविजेता बनेसंगै ५ लाख रुपैया प्राप्त गरेको थियो । पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफुहरुले पाउनुपर्ने पुरस्कार नपाएको गुनासो गरे । ‘ हामीले पटक पटक सम्पर्क गर्दा रेस्पोन्स नै गर्दैन् । आलटाल गरिरहेको छ । प्रतियोगिता गरेपछि पुरस्कार त दिनुपर्छ नी ’ थापाले भने ।

बुढासुब्बा गोल्डकप आयोजक समितिका अध्यक्ष किशोर राई एन्फा प्रदेश १ का अध्यक्ष एवम एन्फाका मानार्थ उपाध्यक्ष समेत हुन् । एन्फाकै जिम्मेवार व्यक्तिहरुले पुरकार रकम नदिँदा समग्र नेपाली फुटबलमा गलत नजिर बस्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

प्रायोजक र गेटमनीकै भरोसाले धरासायी बुढासुब्बा आयोजक

वि.स २०५५ साल देखि आयोजना भइरहेको प्रतियोगिता आयोजक धरान फुटबल क्लबको आफ्नै स्थायी श्रोत छैन् । प्रायोजक र दर्शकहरुबाट संकलित गेट मनीबाट प्रतियोगिता हुँदै आएको छ । कोभिड संक्रमणको कारण विगतका २ बर्ष प्रतियोगिता गर्न सकेन् । जसको मुख्य कारण स्थायी श्रोत नहुनु पनि हो । प्रदेश सरकार, धरान उपमहानगर, राष्ट्रिय खेलकुद परिषद र प्रायोजकहरुबाट रकम संकलन गरेर प्रतियोगिता हुँदै आएको छ ।

तर आयोजकहरु प्रदेश सरकारबाट प्राप्त गर्नुपर्ने १० लाख मध्ये ५ लाख रुपैया मात्र पाएको बुझिएको छ । धरान उपमहानगरबाट ९ लाख र राखेपबाट पाउनुपर्ने ५ लाख रुपैया पाउन नसकेको जानकारी प्राप्त भएको छ । गोल्डकपको पुरस्कारको बारेमा आयोजक समितिका अध्यक्ष किशोर राई, महासचिव प्रताप तामाङ र कोषाध्यक्ष घनश्याम बुढाथोकीलाई पटक पटक बुझ्न खोज्दा फोन उठाएनन् ।

हाम्रो पुर्वाञ्चल गोल्डकपको पनि अवस्था उस्तै

अर्को तर्फ २०७६ असोजमा झापामा भएको हाम्रो पुर्वाञ्चल गोल्डकपको पुरस्कार रकम समेत विजेता त्रिभुवन आर्मीले पाएको छैन् । आर्मीले विजेता भए बापत पाउनुपर्ने १२ लाख ५० हजार मध्ये हालसम्म ३ लाख मात्र पाएको प्रशिक्षक नविन न्यौपानेले बताए । ‘ आयोजकहरु अहिले त सम्पर्क विहिन भएका छन् । पुरस्कारका लागि एन्फामा निवेदन समेत दिएका छौ । आयोजकहरु एकले अर्कालाई देखाउदै आलटाल गरिरहेका छन् ।’

प्रतियोगिताको ब्रान्ड एम्बेसेडरमा पुर्व राष्ट्रिय कप्तान एवम प्रशिक्षक हरि खड्का रहेका थिए । प्रतियोगितामा म्याच कमिस्नरको भुमिकाका रहेका झापा फुटबल संघका अध्यक्ष भगिरथ आले मामा पुरस्कार दिलाउन प्रयास भइरहेको बताउँछन् ।

पुरस्कार नदिनेहरुलाई अनुमती दिइदैन्ः एन्फा अध्यक्ष शेर्पा
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रतियोगिताको पुरस्कार वक्यौता रहेका आयोजकहरुलाई एन्फा सेडयुल नदिने बताए । उनले प्रतियोगिता आयोजना गर्नका लागि पुरानो रकम चुक्ता गर्न आयोजकहरुलाई आग्रह गरे । ‘ केही टिमहरुबाट पुरस्कार रकम नपाएको गुनासो आएको छ । यसमा हामी गम्भिर छौ यस पटक प्रतियोगिता आयोजना गर्नका लागि पुरस्कारमा वक्यौता रहे हामी अनुमती दिँदैनौ ।’ एन्फा अध्यक्षकै भनाईलाई हेर्दा यस बर्ष बुढासुब्बा गोल्डकप हुने संकेत देखिदैन् ।