इटहरीः धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने गरेको बेथिती र अनियमितताका विरुद्धमा निकै समय साम्य भएको आन्दोलन फेरी चर्किएको छ ।
प्रतिष्ठानभित्र बेथिती मौलाएको भन्दै भित्रैबाट चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले गएको असारदेखि निरन्तर आन्दोलन गरिरहेको भएता पनि बिचमा सरकारले उच्चस्तरीय छानविन समिति गठन गरेपछि आन्दोलन रोकिएको थियो ।

धरानबासी र नागरिक समाजको समेत साथ पाएको आन्दोलन सरकारले पदाधिकारीलाई कारबाही गर्न गरेको पहल उपलव्धि मुलक नभएपछि पुनः आन्दोलन सुरु भएको हो ।
सरकारले निलम्बन गरेपनि अदालतको निर्णयपछि उपकुलपति ज्ञानेन्द्र गिरी सहितको समुह पुनः प्रतिष्ठानमा आइसकेको छ । सरकारले विवादित पदाधिकारीहरुलाई हटाउन सकेको छैन् । सरकारले सिनेट बैठक बोलाएर पदाधिकारीहरुलाई हटाउन खोजे पनि सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएको छ ।

स्वास्थ्य सेवामा प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने सुविधा सम्पन्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गम्भीर विरामी लिएर इर्मजेन्सीमा पुगेको विरामी होस् वा ओपिडी सेवामा गएका विरामी र तिनका आफन्त होस्, कसैलाई पनि आशा गर्ने ठाउँ प्रतिस्ठानले राखेको छैन । सूस्त प्रशासन, र अस्तव्यस्त संयन्त्रका कारण प्रतिस्ठानमा बेथिती बढेको जानकारहरुको भनाई छ ।

सरकारबाट गरिएको आशाको त्यान्द्रो चुडिन लागेपछि पुन घोपा बचाउ अभियानको नाममा आन्दोलन शुरु भएको छ । हामी नेपालको आह्वानमा स्वतःस्फर्तरुपमा शनिबारदेखि घोपा बचाउ आन्दोलन शुरु भएको हो । पहिलो दिन शनिबार धरानको भानुचोकमा भेला भएका धरानबासीहरुले ब्यानर, प्ले कार्डसहित र्याली निकालेका थिए । उनीहरु वीपी प्रतिष्ठानको डेन्टल कलेजको मेनगेट बाहिर पुगेर धर्नामा बसेका थिए ।

प्रशासनको कमजोरी, उपकरणको अभाव, बेड र औषधी, अत्यावश्यक स्वास्थ्य सामग्रीको अभावले विरामी र अस्पतालको दुर्दशा चरम उत्कर्षमा पुगेको भन्दै ‘हामी नेपाल’को आह्वानमा घोपा क्याम्प बचाउ अभियान शुरु भएको हो । यो अभियानमा अधिकांश युवाहरु जोडिएका छन् । प्रतिष्ठानको बेथिती अन्त्य नभएसम्म अबदेखि हरेक दिन दिउँसो ४ बजे डेन्टल कलेज गेट अघि प्रर्दशन गरिने हामी नेपालले जनाएको छ । वीपी प्रतिष्ठानलाई घोपा क्याम्प भनेर पनि चिनिन्छ ।

घोपा क्याम्प बचाउ अभियानले विभिन्न ७ बुँदे माग अघि सारेको छ । प्रतिष्ठानको पदाधिकारीहरु नियुक्तको लागि मापदण्ड तोकेर सोही अनुसार सक्षम, प्रतिस्पर्धामा अब्बल व्यक्तिलाई नियुक्त गर्न अभियान तथा आन्दोलनको माग छ ।पदीय जिम्मेवारी पुरा नगर्ने पदाधिकारी वा जिम्मेवार पदमा बसेकाहरु ले राजिनामा गर्न वा पदीय जिम्मेवारी अनुसार काम गर्न पनि आन्दोलनको माग छ । भ्रष्टहरुलाई कानुन अनुसार कडा कारबाही गर्न पनि माग गरिएको छ ।

उपचार सेवामा अत्यावश्यक पर्ने एमआरआई जस्ता उपकरणहरुको टेण्डर गरेर चाडो खरिद गरेर अस्पतालमा सेवा प्रभावकारी बनाउन पनि माग गरिएको छ भने हरेक तहमा अनुगमन गरेर भ्रष्टचार अन्त्य गर्न र पारदर्शिता अपनाउन पनि माग गरिएको छ । हरेक विभाग व्यवस्थितरुपमा सञ्चालन गर्न माग गरिएको छ भने फार्मेमी पुर्णरुपमा सञ्चालन गरेर आवश्यक पर्ने औषधीहरु सहजरुपमा उपलब्ध हुने वातावरण तयार गर्नुपर्ने पनि माग गरिएको छ ।