इटहरीः मनाङ मर्स्याङदी क्लब इटहरीमा जारी १२ औ संस्करणको इटहरी गोल्डकपमा विजयी सुरुवात गरेको छ । इटहरी रंगशालामा भएको दोश्रो क्वाटरफाइनल खेलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब भारतलाई २–० गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुवात गरेको हो । मनाङको जीतमा अफ्रिकन खेलाडी अफिज ओलावले नायक बने । खेलको दुवै गोल उनले गरेका थिए ।

पहिलो हाफको १६ औ मिनेटमा अफिजले सुरुवाती अग्रता दिलाएका थिए । शिशिर लेखीको क्रसपासमा अफिजले जाली चुमाए । पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङले दोश्रो हाफमा समेत १ गोल थप्यो । खेलको ७८ औ मिनेटमा अफिजले अग्रता दोब्बर बनाए । जितसंगै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा दुवै टोलीले केही राम्रा मुभहरुलाई सदुपयोग गर्न सकेनन् ।

खेलको तेश्रो मिनेटमा अरुण तामाङको प्रहार मनाङका गोलरक्षक विशाल सुनारको हातबाट फुत्किएपनि दिनेश राजवंशीले गोललाइनबाट क्लियर गरिदिए । १३ औ मिनेटमा मनाङका शिशिरले लामो दुरीबाट गरेको प्रहार क्रस बारमा लागेर फर्कियो । ४५ औ मिनेटमा अफिजको पासमा फ्रयाङ्कलिन कुटेको प्रहार कञ्चनजंघाका डिफेन्डरले क्लियर गरिदिए । ६४ औ मिनेटमा कञ्चनजंघाका कप्तान सन्दिप लिम्बुको हेडर बाहिरियो ।

६५ औ मिनेटमा शिशिरको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ६९ औ मिनेटमा प्रवेश कुँवरको पासमा दिपक राईको हेडर गोलरक्षक निगम सिंहले पञ्च गरेर बचाए । ७१ औ मिनेटमा अफिजको हेडर गोलरक्षकले सहजै नियन्त्रणमा लिए । ७४ औ मिनेटमा कञ्चनजंघाका अनिता राई प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो । इन्जुरी समयमा अञ्जन विष्टले गरेको प्रहार गोलरक्षकले सहजै नियन्त्रणमा लिए । खेलमा दुवै गोल गरेका अफिज म्यान अफ दि म्याच हुँदै नगद १० हजार प्राप्त गरे ।

IMG_9857

खेलपछि पत्रकारहरुसंग कुरा गर्दै कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले पराजयका बाबजुद पनि आफ्ना खेलाडी उत्कृष्ट खेल देखाएको बताए । उनले व्यहोरेको दुवै गोलमा असन्तुष्टी व्यक्त गरे । उनले टिमको विङ्गरहरु परिपक्व नहुँदा पाएका केही राम्रा अवसरहरु सदुपयोग नभएको बताए । मनाङ नेपालको उत्कृष्ट टोली भएको बताउँदै क्षेत्रीले विपक्षीहरुको कमजोरीलाई सदुपयोग गरेर स्कोर गर्ने रणनिति सफल नभएको बताए ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खेलमैदानमा पानीकै कारणले केही असहज भएपनि विपक्षी टोलीको खेल उत्कृष्ट भएको बताए । विपक्षी टिमको फिटनेसमा भएको कमजोरीको फाइदा लिन सफल भएको बताए । पुर्वमा चल्ने खेपका कारण खेलाडीहरु थकित भएकाले सोचे अनुरुपको खेल नभएको बताए ।

आयोजकहरुको व्यवस्थापन र खेलमैदानमा उत्कृष्ट भएको उनले बताए । धेरै खेल भएकाले अञ्जन लगायतका केही अनुभवी खेलाडीहरुलाई बेञ्चमा राखिएको उनले बताए । विपक्षी टोलीसंग मनाङका खेलाडीहरुले भरौलमा खेलेको कारण उनीहरुको कमजोरीलाई उपयोग गरेको तामाङले बताए ।

प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सोमबार झापाको रोलिङ क्लब धुलाबारी र अफ्रिकी टोली एभेनियर फुटबल क्ल्ब बिच खेल हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कन्ट्रोल लुब्रिकेन्ट रहेको छ ।