इटहरीः विराटनगरको नोवेल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत डाक्टर विजय यादवको हत्या गरिएको आशंका प्रहरीले गरेको छ ।

विराटनगर ४ मा डेरा गरी बस्ने नोवल मेडिकल कलेजमा कार्यरत डाक्टर यादव शनिवार विहान आफु डेरा गरी बस्ने घरको भुई कम्पाउण्डमा मृत फेला परेका थिए । मृतकका आफन्तले पनि डा. यादवको हत्या भएको भन्दै अनुसन्धान गरेर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

आफन्तले आइतबार नोवेल मेडिकल कलेज नजिकै टायर बालेर प्रदर्शन गरी सत्यतथ्य छानविन गर्न माग गरेका थिए । प्रहरीले वास्तविकता पत्ता लगाएर सार्वजनिक गर्ने र कोही दोषी देखिए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि प्रदर्शन रोकियो । स्थिति नियन्त्रण बाहिर जान नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थायी घर भएका डाक्टर प्रेम बस्नेतको घरको दोस्रो तलामा कोठा भाडामा लिएर बस्दै आएका थिए । शुक्रबार नोवेल मेडिकल कलेजले आयोजना गरेको स्वास्थ्य शिविरमा गएर आएको उनि सोहि दिन राती अवेर सम्म साथीहरुसँगै बिराटनगरकै एयरपोर्ट मोडको एउटा होटलमा मादक पदार्थ सेवन गरेर बसेको खवर सार्वजनिक भएको थियो ।

Photo (2) (1)

प्रहरीले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको छ । घटना शंकास्पद र गम्भीर रहे पनि डा. यादवको हत्या भएको हो कि हैन भन्ने अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार ६ जना संकित व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ।

यादवले हाम फालेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएता पनि घटनास्थलबाट प्राप्त केही प्रमाणले भने आत्महत्याको संकेत नगरेको आंकलन गरिएको छ । हत्या पछि शवलाई कम्पाउण्ड गेटमा ल्याएर राखिएको हुन सक्ने आंकलनहरु भएका छन् ।घरबाट हाम फालेको भए शरीरका अंग क्षतविक्षत हुनुपर्ने भएपनि नाक, मुख र शरीरका केही भागमा चोटपटक मात्रै भएकाले हत्याको आशंका गरिएको प्रहरी स्रोतको भनाई छ । यद्यपि पुष्टि हुन बाँकी नै छ ।

मृतक यादवको डेरा नजिक शुक्रबार राति ११ बजेतिर ७–८ जनाको समूहबीच झगडा भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । प्रहरी घटनास्थल पुग्दा झगडा गर्नेहरु फरार भएको बताइएको छ । पहिचान भइसकेका झगडामा संलग्नलाई प्रहरीले शनिबार नै सोधपुछको दायरामा ल्याइसकेको छ ।