इटहरीःअफ्रिकन खेलाडी फोडे फोफोना र अजयी मार्टिन्स निर्णायक बनेपछि रोलिङ क्लब धुलाबारीले १२ औ संस्करणको इटहरी गोल्डकपमा बिजयी सुरुवात गरेको छ । इटहरी रंगशालामा भएको तेश्रो क्वाटरफाइनल खेलमा रोलिङले पाहुना टोली एभेनिर फुटबल क्ल्ब क्यामरुनलाई २–१ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान बनाएको हो । रोलिङको जितमा फोफोना र मार्टिन्सले गोल गरेका थिए ।

एभेनिरका केनीले सान्तवना गोल फकाए । खेलको सुरुवाती अग्रता एभेनिरले लिएको थियो । २७ औ मिनेटमा रोलिङका गोलरक्षक मनोज प्रधानको हातबाट फुत्किएको बललाई केनीले जाली चुमाए । १ मिनेट नवित्दै फोफोनाले खेल बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको इन्जुरी समयमा मार्टिन्स निर्णायक गोल गरे । एभेनिरका डिफेन्डर बेलको कमजोरीको फाइदा उठाउँदै मार्टिन्सले पोष्टको दिशा दिए ।

खेलमा दुवै टिमले केही राम्रा मुभहरु बनाएपनि सदुपयोग गर्न सकेनन् । ९ औ मिनेटमा फोफोनाको शसक्त हेडरलाई गोलरक्षक रोड्रिग्यूले नियन्त्रणमा लिए । २६ औ मिनेटमा एभेनिरका गोलरक्षक हातबाट फुत्किएको बललाई सन्जोग राईले खाली पोष्टमा गोल गर्न सकेनन् ।

IMG_9670

३० औ मिनेटमा रोलिङका अजयी मार्टिन्सको एक्रोबेटिक प्रहार बाहिरियो । ६० औ मिनेटमा मनिष थापाको क्रसमा सन्जोगले गरेको हेडरले जाली चुम्न सकेन् । ६३ औ मिनेटमा रोलिङका गोलरक्षक मनोजलाई फाउल गरेपछि बोरिसले पहेलो कार्डको दर्शन गरे । ७० औ मिनेटमा वान भर्सेस वानको अवस्थामा बोरिस अग्रता दिलाउनबाट चुके । खेलको म्यान अफ दि म्याच रोलिङका डिफेन्डर पिटर सेगुन घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । जितसंगै रोलिङले फाइनल प्रवेशका लागि बुधबार विभागीय टोली त्रिभुवन आर्मीलाई प्रतिद्धन्द्धी पाएको छ ।

खेलपछि पत्रकारहरुसंग कुरा गर्दै एभेनिरका प्रशिक्षक आशिक थापा मगरले डिफेन्डरको कमजोरीको कारण पराजित भएको बताए । उनले खेलमैदान नबुझेको कारण खेलाडीहरुको फिनिसिङ आउन नसकेको बताए । मगरले क्यामरुनका खेलाडीहरुलाई घाँसे मैदानको अनुभव कम भएकाले अपेक्षा अनुरुप नभएको बताए । उनले खेलाडीहरु अनुशासित नभएकाले नेपालमा खेलिएका धेरै जसो प्रतियोगितामा पराजय भोगेको भन्ने गैर जिम्मेवारपुर्ण जवाफ दिए । उनले आफ्ना खेलाडीहरु रातभरी मोवाइलमा व्यस्त भइदिएको गुनासो गरे । ‘ यहाँ रातको ११ बज्दा उनीहरुको विहान हुन्छ अब परिवारसंग कुरा नगर भन्न पनि मिलेन् ।’

IMG_9753

उता रोलिङका प्रशिक्षक सुजन गुरुङले विपक्षी टिम राम्रो भएको बताए । उनले ग्राउन्डको कारणले पहिलो गोल व्यहोरेको बताए । मिडफिल्डमा कमजोरी भएको बताउँदै एरिया कभर नभएको बताए । खेलाडीहरुले लगातार खेल भएकाले थाकेको बताए । उनले लगातार खेलका कारण इन्जुरीको समस्या देखिएको बताए ।

उनले खेलाडीहरुलाई सम्झौता गरेर नराखेको कारण लगातार प्रतियोगिता खेलाउनुपर्ने बाध्यता रहेको सुनाए । उपलब्ध खेलाडी समेटेर टिम तयार भएको बताए ।प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी) र सगरमाथा युथ क्लब मोरङ बिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा यसअघि विभागीय टोली त्रिभुवन आर्मी, मनाङ मस्र्याङदीले सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।