इटहरी : १२ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा न्यूरोड टिम (एनआरटी) काठमाण्डौ खेलमण्डलले मोरङको सगरमाथा युथ क्लबसंग भिड्दै छ । भरखरै मात्र सिमरा गोल्डकपको उपाधि जितेको एनआरटी उच्च लयमा छ । उसले उपाधि जित्न विभागीय टोली एपिएफ विरुद्ध ५–० को जित दर्ता गरेको थियो ।

शहिद स्मारक ए डिभिजन लिगमा नेपाली फुटबलका जाइन्ट टोली मनाङ मस्र्याङदी, थ्रीस्टार लगायतलाई पछि पार्दै तेश्रो स्थानमा रहन सफल टोली पछि समय उच्च फर्ममा छ । राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको एनआरटी विरुद्ध मोरङको टोलीलाई खेल्न निक्कै कठिन हुनेछ ।

रञ्जन विष्टको कप्तानीमा उत्रिने एनआरटीसंग नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर दर्शन गुरुङ, कृतिशरत्न छुन्जु, विशाल तामाङ, विक्रम धिमाल, दिपेश घले, शिव गुरुङ, अशोक थापा मगर, राजेश परियार, नविन गुरुङ, सुजन शर्मा, विवेक गुरुङ रहनेछन् ।

गोलपोष्टमा पुजन होना रहँदा अफ्रिकी खेलाडी स्टेफेन समिरलाई आक्रमण बुन्ने जिम्मा हुनेछ । एनआरटीमा मेस्सुके र वियिक लगायतका खेलाडीहरु हुनेछन् । १४ बर्षपछि पुर्वेली भुमिमा उपाधि जित्ने लक्ष्यका साथ एनआरटी इटहरी आएको हो । उसले पछिल्लो पटक २०६४ सालमा धरानको बुढासुब्बा गोल्डकप जितेको थियो । एनआरटीसंग आज नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर एरिक बिष्ट भने हुनेछैनन् ।

यता मोरङको विराटचोकको सगरमाथा युथ क्लब प्रदेश एकमा हुने साना–ठुला गोल्डकपको अनुभवी टोली हो । उसले विभिन्न समयमा उत्पादन गरेका खेलाडीहरु अहिले नेपालका विभिन्न ए डिभिजन क्लबबाट प्रभावशाली खेल देखाइरहेका छन् । सगरमाथाले अशोक, खवास, पुर्ण चेम्जोङ लगायतका केही राम्रा खेलाडीहरु उत्पादन गरेको छ । सम्भवत अशोकको कप्तानीमा सगरमाथा उत्र्नेछ ।