विराटनगरः मोरङ जिल्लाको लेटाङमा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा २० जना विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्धा दर्ता गराएको छ ।

झण्डै दुई साताको अनुसन्धान पछि प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको बताइएको छ । हिंसामा संलग्न ४३ जनाको विरुद्ध अझै अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षकले कक्षा ६ मा अध्ययनरत एक बालिकालाई यौन दुव्र्यवहार गरको आरोप लागेपछि विकसित भएको घटनाले २० जनालाई अदालतसम्म पुर्याउने पक्का भएको हो ।

ज्यान मुद्दा पर्नेमा लेटाङ–४ बस्ने ४८ वर्षीय चन्द्र तामाङ भन्ने चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, झविन भन्ने जस्विन पाख्रिन, प्रह्लाद खड्का, वडा ५ का २३ वर्षीय प्रदीप राई, १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर, सञ्जीव प्रधान, प्रनिश कट्टेल, सुनील लिम्बू, २० वर्षीय कृष्ण विक, वडा ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, पासाङ तामाङ, श्रवण यादव र वडा ९ बस्ने अर्पण परियार समेत रहेका छन् ।

लेटाङ्गको सुरक्षा भड्काउने गरी हिसा निम्त्याएको आरोपमा प्रहरीले संजोग राईसहित ४३ जनाविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान गरीरहेको बताएको छ  । हिंसा उत्पन्न गराउने भन्दै पक्राउ पर्नेमा केहि बिद्यार्थी समेत रहेको बताइएको छ ।

आरोपित शिक्षकलाई लिन पुगेको प्रहरी टोलिलाई उत्तेजित भिडले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो भने २९ जना प्रहरी घाइते भएको थिए । स्थानीय तर्फ पनि केहि सामान्य घाइते भएका थिए । घटनालाई आफ्नो नियन्त्रणमा लिन प्रहरीले ४ दिन सम्म कफ्यु आदेश जारी गरेको थियो ।