इटहरीः उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ३ मा ट्युसन पढ्न गएकी दश कक्षामा पढ्ने बालिकाको हत्या भएको छ ।

दश कक्षामा पढ्दै गरेकी बालिका कविता सुनुवारको मंगलबार बिहान ट्युसन पढ्न जाँदै गर्दा हत्या भएको हो । हत्यामा कविताकै कक्षामा पढ्ने साथी र साथीको दाईको संलग्नता रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यलय रामपुर बेलकाले गरेको प्रारम्भिक अनुसन्धानको आधारमा कविता र उनकै कक्षामा पढ्ने अर्की साथीबिच केहि दिनदेखि मनमुटाव रहेको र साथीले कविताको हत्या गर्नकै लागि आफ्नो दाजुको सहायता लिएको पाइएको छ ।

कवितालाई उनकै साथी सरिता खत्री र सरिताका नाताले दाई पर्ने विनोद ढकालले मार्ने योजना बनाएको र वियरको बोतल र ढुँगाले हानेर कविताको हत्या गरेको पाईएको प्रहरीले बताएको छ । प्रहरीले घरभन्दा केहि किलोमिटर टाढा यसोधा खोलाको डिलमा कविताको शव भेटाएपछि अनुसन्धान तिव्र पारेको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

कविता एसईई परिक्षाको तयारीका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान साथीसँग निस्किएकी थिइन् ।हत्यामा संलग्नको आशंका गरिएका विनोद उक्त स्कुलमा अध्ययनरत नभएपनि बहिनीलाई पुर्याउन भन्दै मंगलबार सरितासँगै निस्किएको पाइएको छ ।

ट्युसन जाँदै गर्दा बाटोमै विवाद बढेको र विनोद र सरिता मिलेर कवितालाई वियरको बोटल र ढुँगा प्रहार गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।
प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र रगतले लत्पतिएका ढुंगा पनि बरामद गरेको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले दुवै आरोपिलाई जिल्ला प्रहरी कार्यालय गाईघाट पुर्याएको छ । सरिता नावालिका भएतापनि २५ दिन सम्म अनुसन्धानका लागि राख्न मिल्ने प्रहरीको भनाई छ ।