इटहरीः १२ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि होडमा प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र रोलिङ क्लब धुलाबारी भिड्दैछन् । दुवै टोलीबाट नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीहरुको खेल देख्न सकिन्छ । रोलिङ र आर्मी नौलो प्रतिद्धन्द्धी हैनन् । एकले अर्का विरुद्ध नखेले पनि दुवै टोलीबाट सहभागि खेलाडीहरुले ए डिभिजन लिग र मोफसलका गोल्डकप प्रतियोगितामा एक अर्का विरुद्ध प्रतिस्पर्धा गरिसकेका छन् ।

दुवै टोली कम्तीमा ३ लाख ५० हजार रुपैयाबाट एक पाइला मात्रा टाढा छन् । आजको विजेता टोलीले कम्तीमा ३ लाख ५० हजार सुरक्षित गर्नेछ । सेमीफाइनल प्रवेशका लागि धुलाबारीले पाहुना टोली क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदा उपाधिको दावेदार आर्मीले आयोजक माथि २–१ गोल अन्तरको संघर्षपुर्ण जित दर्ता गरेको थियो । इटहरी मैदानमा आर्मी भाग्यमानी टोली हो ।

उसले यसअघि २०७५ सालमा मनाङ मस्र्याङदीलाई हराउँदै उपाधि जितेको थियो । यस बर्ष आर्मीको चुनौती उपाधि रक्षा हुनेछ । सिजनको पहिलो उपाधि झापा गोल्डकपपछि आर्मीले अरु प्रतियोगिताको फाइनलसम्म स्थान बनाउन सकेको छैन् ।

एक साता अघि मात्र दमक गोल्डकपको क्वाटरफाइनल खेलमा आर्मी माथि भारतीय टोली मानेभञ्ज्याङले फराकिलो जित निकाल्यो । एक समय मोफसलको गोल्डकपमा एक छत्र राज गरेको आर्मी विस्तार कमजोर हुँदै गएकाले रोलिङलाई जित निकाल्न सहज हुने अपेक्षा राखिएको छ । अर्को तर्फ आर्मी प्रतिद्धन्द्धी अनुसारको खेल देखाउन माहिर मानिन्छ ।

खेप (खेल पारिश्रमिक) का खेलाडीहरुले भरिएको छ रोलिङ । आर्मी आफ्ना नियमित खेलाडीहरु सहित मैदानमा देखिनेछ ।आर्मीले क्वाटरफाइनल खेलमा भरपर्दा स्टाइकर नवयुग श्रेष्ठलाई मैदान उतारेको थिएन् । सेमीफाइलनमा नवयुग सहितको सेट मैदानमा देखिने प्रशिक्षक नविन न्यौपानेले बताए । उता शारिरिक रुपमा बलिया अफ्रिकी खेलाडी विरुद्ध झापाली टोलीले खेल जित्यो ।

झापालाई जिताउन अफ्रिकी खेलाडी मार्टिन्स र फोफोना फोडे निर्णायक थिए । आज आर्मी विरुद्ध समेत उनीहरु चम्कनेछन् । यसै बर्ष रोलिङले बेलबारी गोल्डकपमा च्यासल क्लबलाई हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो । झापामा आयोजित केही प्रतियोगितामा उसले औषत प्रर्दशन गरेको थियो ।

277735692_688030205872949_6492221157479323231_n