इटहरीः ६० को दशकमा नेपाली राष्ट्रिय टिमका कप्तान हरि खड्का, अनन्तराज थापा, जुमानु राई सम्मिलित नेपाल पुलिस क्लब खेलमैदानमा प्रवेश गर्दा दर्शकहरु उनीहरुको नाम लिएर हुटिङ गर्थे । नेपालका धेरै जसो गोल्डकपमा पुलिसको उपस्थिती अनिवार्य जस्तै थियो । तर अहिले त्यो क्रम छैन् । एक समय विभागीय टोलीहरु विनाको फुटबल प्रतियोगिता हुदैन थियो । देशकै प्रतिष्ठित आहारारा, बुढासुब्बा, तिलोत्तमा गोल्डकपहरुको विजेता इतिहास हेर्ने हो भने विभागीय टोलीहरु हावी भएको देख्न सकिन्छ । तर २०७० यता आएर त्यो क्रममा ब्रेक लागेको छ ।

धेरै जसो प्रतियोगितामा अहिले विभागीय टोली अनिवार्य हुने क्रम विस्तारै परिर्वतन हुँदैछ गएको छ जसको कारण दर्शकहरुको सर्मथन नहुनु पनि हो । पुलिसको टचलाईनमा अहिले पनि अनन्त देखिन्छन् । तर उनको नाम लिएर हुटिङ सुन्न छाडिएको बर्षौ भइसक्यो । विभागमा आवद्ध जागिरेहरु बाहेक विरलै मात्र क्लबले समर्थक पाउँछ । खेलमैदानमा पुलिसको समर्थनमा प्लेकार्ड देखिन छाडेको लामो समय भयो ।

सन् २००० देखि २०१० बिचको नेपाली राष्ट्रिय टोलीको खेलाडीहरु हेर्ने हो भने धेरै जसो विभागका ३ वटा टिमबाट हुन्थे । पर्वत पाण्डे, जुमानु राई, हरि खड्का, रितेष थापा, राकेश श्रेष्ठ, रमेश बुढाथोकी, राजु तामाङ, देवनारायण चौधरी, जिवेश पाण्डे, अनन्तराज थापा, भरत खवास, रविन श्रेष्ठ लगायत नेपालको टिममा थिए ।

859821_10151468472417556_513903942_o

कप्तानकै रुपमा नेपाल पुलिसका हरि खड्का र राकेश श्रेष्ठले नेपालको टिमलाई सम्हाले । तर अहिले त्यो क्रम छैन् । २०१० पछिको १२ बर्षका विभागबाट राष्ट्रिय टोलीका कप्तानी सम्हाल्ने भरत खवास एक्ला हुन् । पछिल्लो राष्ट्रिय टोलीको २५ सदस्यमा ७ जना मात्र विभागका क्लबहरुबाट छन् ।

ए डिभिजन लिगको नवप्रवेशी टोली सातदोबाटोबाट ३ जना खेलाडीले थाइल्यान्ड विरुद्धको मैत्रीपुर्ण खेलमा सहभागि नेपाली टिममा प्रतिनिधित्व गर्दै गर्दा विभाग मध्येको सवैभन्दा बलियो आर्मीबाट ४ जना, पुलिसमा २ जना र एपिएफबाट १ जना प्रतिनिधित्व गरेका थिए । अहिले पुलिसबाट राष्ट्रिय टोलीमा खेलेका सुमन लामाले क्लब छाडिसकेका छन् । विभागमा खेलाडीहरुको आर्कषणमा समेत कमी आएको छ ।

सन् २०१५–१६ को सिजनमा एपिएफ क्लबको जर्सीमा देखिएको अञ्जन विष्ट अहिले मनाङ मस्र्याङदीको कप्तानी आर्मब्यान्डमा देखिन्छन् । सुमन अहिले इटहरीमा मनाङको जर्सीमा देखिए । एपिएफबाट ए डिभिजन लिग खेलेका आभाष लामिछाने, प्रदिप लामा र आशिष लामा इटहरी मैदानमा विराटचोकको सगरमाथा युथ क्लबबाट खेले ।

विभागीय टोली व्यवसायिक बन्न नसक्दा धरासायी

पुलिसका पुर्व खेलाडी समेत रहेका प्रशिक्षक अनन्तराज थापा विभागीय टोली व्यवासयिक फुटबल तर्फ अघि बढ्न नसक्दा समर्थकहरु नपाएको गुनासो गर्छन् ‘ विभागीय टिम व्यवसायिक फुटबल तर्फ अघि बढ्न सकेका छैनन् । एएफसी लाइसेन्स प्रक्रियामा हामी प्रवेश गर्न सकेका छैनौ ।

क्लबले विदेशी खेलाडीहरु अनुबन्धन गरेर खेलाउन पाउने हो भने विभागीय टोली पनि व्यवसायिक फुटबल तर्फ अघि बढ्न सक्छ । ’ उनले भने ‘ हाम्रो पुलिस क्लबमा विदेशी खेलाडीहरु छैनन् । अरु देशका विभागीय टिमलाई हेर्ने हो भने उनीहरुको क्लबमा अन्य देशका खेलाडीहरुलाई समेटेर व्यवसायिकतामा ढालेका छन् । उदाहरण श्रीलंकन पुलिस क्लब भन्छन त्यहाँ सबै पुलिस कहाँ छन् त ? एक समय ए डिभिजन लिगमा प्रभुत्व कायम गरेको हामी यस पटक झन्डै रेलिगेसनमा प¥यौ ’ ।

विभागका ३ मध्ये पुलिस बाहेकका एपिएफ र त्रिभुवन आर्मीले एएफसी लाइसेन्स पाएका छन् । थापाको तर्कलाई पछिल्लो ए डिभिजन लिगको खेलले अझ बढि पुष्टि गर्छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुरुआती तीन खेल गुमाएपछि विभागीय क्लब एपिएफमाथि सुरुमै ‘रेलिगसन दबाब’ बढ्यो ।

61468_558523334216597_1256401383_n

पाँचौ चरणमा आइपुग्दा क्लबले उदार बन्दै जापानी गोलरक्षक युया कुरियामा भित्र्यायो । केही समयपछि अफ्रिकी मुलुक मालीका डिफेन्डर आडामा डोम्बियालाई जावलाखेलबाट भित्र्यायो । लगतै लुम्बिनी एफसीबाट नेपाल सुपर लिग खेलेका अफ्रिकी मुलक चाडका मिडफिल्डर अर्मान्ड बेडुम भित्र्याएपछि एपिएफले आफूलाई शीर्ष डिभिजनमै यथावत राख्न सफल रहयो । ३ खेलमा जित र ६ बराबरीका साथ एपिएफ आठौ स्थान रहँदा अनन्तको टोलीले २ जित र ६ बराबरी खेल्दै ११ औ स्थान रहयो । पुलिस ४ अंकले मात्र रेलिगेसन जोनमा पर्नबाट बच्यो । अर्को विभागीय टोली त्रिभुवन आर्मीले आफुलाई दोश्रो स्थान उभ्यायो ।

आर्मी समेत पछिल्लो समय लय गुमाउँदो अवस्थाबाट गुज्रदोछ । झापा गोल्डकपमा भारतको मानेभञ्ज्याङ विरुद्ध ४–० गोल अन्तरको जित निकालेको टोली एक महिनापछि दमक गोल्डकपमा उहि टोलीसंग समान अन्तरले हार्न पुग्यो । नेपाली खेलाडीमा मात्र भरपर्दा आर्मीले खेल स्तरमा उतारचढाव छ ।

आर्मीबाट फुटबल खेल्दै प्रशिक्षक बनेका पुर्व राष्ट्रिय खेलाडी राजु तामाङ विभागीय टोली समेत व्यवासयिकता तर्फ ढल्कनुपर्ने बताउँछन् । उनी अनन्त जस्तै विभागीय टोली उदार हुनुपर्ने तर्क राख्छन् । तामाङ पछिल्लो समय सामाजिक सञ्जाल मार्फत आर्मीले समर्थकहरुलाई एकजुट बनाएको बताउँछन् । ‘ मेरो बुझाई अन्य क्लबहरुमा बर्सेनी खेलाडीहरु परिर्वतन भइरहन्छन् नयाँ नयाँ खेलाडीहरुको प्रवेश भइरहने भएकाले समर्थकहरुको नजर विभाग बाहेकका क्लबमा परेको हो की भन्ने लाग्छ । हाम्रो क्लबमा बर्षै देखि उहि खेलाडी भएकाले पनि दर्शकले खासै नरुचाएका होला ?’ राजुले अनुमान गरे ।

आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने विभागीय टोली प्रति आम फुटबल समर्थकहरुमा रहेको भ्रम चिरिदै गएकाले क्रमश समर्थकहरु बढ्दै गएको बताउँछन् । उनी कर्तव्य पालनका क्रममा आर्मी, पुलिस र शसस्त्र प्रहरीहरु शान्ति सुरक्षाको लागि जनतासंग प्रत्यक्ष सरोकारमा रहने भएकाले त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा देखिएको बताउँछन् ।

405899_320096734698397_84417289_n