इटहरीः इटहरी गोल्डपकको फाइनल भिड्ने टोली आज पक्का हुँदैछ । आर्मीले उपाधि होडमा स्थान बनाइसक्दा अर्को टोलीले निक्यौल मनाङ मस्र्याङदी र सगरमाथा युथ क्लब विराटचोक विच खेलबाट हुनेछ । जारी सिजनको सवैभन्दा सफल टोली मनाङ विरुद्ध खेपका खेलाडीहरुको टोली सगरमाथा जित निकाल्ने दाउमा छ ।

सगरमाथा ३ जना अफ्रिकी खेलाडी सहित ए डिभिजनको ५ वटा क्लबको खेलाडीहरुको समिश्रणमा रहेको छ । जारी सिजनमा खप्तड गोल्डकप र दमक गोल्डकपको उपाधि जितेको मनाङ इटहरी मैदानमा लगातार दोश्रो पटक फाइनल खेल्न चाहन्छ । मनाङ नेपाली फुटबलको जाइन्ट किलर टोली समेत हो ।

२०७५ माघमा भएको दोश्रो मदन भण्डारी इटहरी गोल्डकपमा समेत मनाङले फाइनलमा स्थान बनाएको थियो । अर्को तर्फ जिल्ला लिग खेल्ने टोलीले यस पटक ए डिभिजनको टिम विरुद्ध ए डिभिजनकै खेलाडी सापटी लिएर खेल्दैछ । ५ वटा टोलीका खेलाडीहरु मिश्रित सगरमाथा विरुद्ध मनाङलाई जित्न निक्कै कठिन देखिनेछ ।

भरखरै सम्पन्न जितपुर सिमरा गोल्डकपको उपाधि जितेको एनआरटी विरुद्ध ३–० गोल अन्तरको प्रभावशाली जित निकालेको सगरमाथा विरुद्ध मनाङले रणनीति परिर्वतन गरेर खेल्नुपर्नेछ । सगरमाथाले क्वाटरफाइनलको सुरुवाती ११ मा गोलरक्षक सहित थ्रीस्टारबाट ३ जना, एपिएफ र सातदोबाटोबाट ३÷३ जना र च्यासलबाट २ जना खेलाडीलाई मैदानमा उतारेको थियो ।

अशोक खवासका कप्तानीमा रहेको सगरमाथाको पोष्ट प्रिसोले सम्हाल्दै गर्दा यान्निक, सिलो, सुशिल राई, हेमन्त थापा मगर, सत्यम शर्मा, आभाष लामिछाने, आशिष लामा, प्रदिप लामा, निशान खड्का लगायतका खेलाडीहरु रहनेछन् । मनाङसंग राष्ट्रिय टोलीका धेरै जसो खेलाडी हुनेछन् । अञ्जन विष्ट, कमल श्रेष्ठ, पुजन उपरकोटी, रुपेश केसी, नितिन थापा, दिनेश राजवंशी, शिशिर लेखी, अफिज ओलवाले, दिपक राई लगायतका खेलाडीहरु हुनेछन् ।