इटहरीः लघुवित्तमा आकर्षण भएका लगानीकर्ताको क्रेज मेटाउन उपकार लघुवित्त वित्तीय संस्थाको आईपिओ बिक्रि खुल्ला भएको छ ।कम्पनीले सर्वसाधारण लगानीकर्तालाई लक्षित गरेर आज शुक्रबारबाट २ करोड २६ लाख २५ हजार रुपैँया बराबरको आईपिओ विक्रि खुल्ला गरेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन भएका छन् यसमा ५५ अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०।५५ अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकि सर्वसाधारणको लागि बाँडफाँड गरिने छ ।

कम्पनीले सर्वसाधारणको लागि २ लाख २१ हजार १५६ कित्ताका छुटाएको छ । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ ।

कस्तो कम्पनी हो उपकार लघुवित्त

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको कम्पनी हो । बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं ११ मा केन्द्रिय कार्यलय रहेको उपकार लघुवित्त २०७५ साउन २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो ।

सोहि सालबाट वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको कम्पनीले २०७५ चैत १ गतेदेखि कारोबार सुरु गरेको थियो । हाल यस लघुवित्तले १० जिल्लाहरुमा ३२ वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्छ ।
८ करोड रुपैयाँ अधिकृत पुँजी र ६ करोड ५६ लाख २५ हजार रुपैयाँ जारी पुँजी २ लाख ३६ हजार २५० कित्ता आइपीओ जारी गरेपछि कम्पनीको जारी पुजी ६ करोड ५६ लाख पुग्नेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म उपकारले ७ करोड ९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।