काठमाण्डौंः अनुशासनहीन काम गरी बदनाम गराएको आरोप लगाउँदै सरकारले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद बैठकले उनलाई अनुशासनहीन काम गरेको, संस्थाको गोपनीयता कायम गर्न नसकेको, सुनियोजित रुपमा सरकारलाई बद्नाम गर्न लागिपरेको जस्ता संगीन आरोप लगाउँदै निलम्बन गर्ने निर्णय गरेको हो 

प्रधानमन्त्री कार्यालयस्थित उच्च स्रोतले सरकारलाई निरन्तर असहयोग गर्दै आएका र अर्थमन्त्रीविरुद्ध खुल्ला रुपमै लागेका जस्ता आरोप पुष्टि हुँदै गएका कारण अधिकारीलाई निलम्बन गर्ने निर्णय गरिएको दाबी गरेको छ ।

अधिकारीमाथि लागेको आरोपहरुबारे छानविन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति समेत बनेको छ । समितिलाई गभर्नरमाथि लागेका आरोपका बारेमा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याण्डेड दिइएको छ ।

स्रोतले बिहीबारकै मन्त्रीपरिषद बैठकबाट गभर्नर निलम्बनको निर्णय गरिएको र कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको दाबी गरेको छ । तर, आजदेखि निर्वाचन आचारसंहिता लागेका कारण सरकारी अधिकारीहरुले गभर्नर निलम्बनलाई वैधानिक बनाउन यस्तो दाबी गरेको देखिन्छ । किनभने सरकारले हिजोको मन्त्रीपरिषद बैठकको निर्णय आज सार्वजनिक गर्दा गभर्नर निलम्बनको कुरा कतै उल्लेख गरिएको थिएन ।

राष्ट्रबैंकले आयोजना गरेको एक कार्यक्रममा समेत अधिकारी गभर्नरकै रुपमा सहभागी थिए । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए । सो कार्यक्रममा देशको अर्थतन्त्रको विषयलाई लिएर गभर्नर र अर्थमन्त्रीको वादविवाद नै परेको थियो । सो कार्यक्रममा अर्थमन्त्री शर्मा निकै आक्रोशित मुद्रामा प्रस्तुत हँुदै गभर्नरमाथि खनिएका थिए ।

अमेरिकाबाट एक व्यवसायीले ल्याउन खोजेको केही करोडमा अर्थमन्त्रीले खेलेको सहयोगी भूमिकाको विषयमा गभर्नरले गोपनीयता कायम गर्न नसकेको र सुनियोजित रुपमा सरकारविरुद्ध मिडियावाजी गरेको अर्थमन्त्रीले खुल्ला रुपमै आरोप लगाएका थिए । यस्तो आरोप लगाएको केही घण्टामै गभर्नर निलम्बनको खबर बाहिर ल्याइएको हो।