इटहरीः इटहरी गोल्डकको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र सगरमाथा युथ क्लब विराटचोक भिड्दै छन् । इटहरी मैदानमा आर्मी भाग्यमानी टोली हो ।

उसले ३ बर्ष अघि इटहरी मैदानमा दोश्रो संस्करणको मदन भण्डारी इटहरी गोल्डकप जितेको थियो । यस पटक समेत आर्मी आफुलाई अब्बल प्रमाणित गराउने अवसर छ । १२ औ संस्करणको इटहरी गोल्डकप जित्दै आर्मी सिजनको दोश्रो उपाधि आफ्नो पक्षमा राख्न चाहन्छ ।

सिजनको पहिलो उपाधि झापा गोल्डकपपछि आर्मीले अरु प्रतियोगिताको फाइनलसम्म स्थान बनाउन सकेको थिएन् । अर्को तर्फ खेप (खेल पारिश्रमिक) का खेलाडीहरुले भरिएको छ सगरमाथा । प्रशिक्षक युजन गुरुङ आफ्नै क्लबको ७ जना खेलाडी सगरमाथाको उत्पादनमा रहेको बताउँदै गर्दा सगरमाथा क्लबका २ जना खेलाडी मात्र टिममा थिए ।

सगरमाथा ३ जना अफ्रिकी खेलाडी सहित ए डिभिजनको ५ वटा क्लबको खेलाडीहरुको समिश्रणमा रहेको छ । जिल्ला लिग खेल्ने टोलीले यस पटक ए डिभिजनको टिम विरुद्ध ए डिभिजनकै खेलाडी सापटी लिएर खेल्दैछ । सगरमाथा अप्रत्यासित टोली हो ।

प्रतियोगितामा सहभागि मध्ये सवैभन्दा फराकिलो जित उसैले निकालेको छ । क्वाटरफाइलनमा एनआरटीलाई ३–० र सेमीफाइनलमा मनाङ मस्र्याङदीलाई ४–२ अन्तरले हराएको थियो । मनाङ विरुद्ध अविश्वसनिय कम्ब्याक जित निकालेको टोली विरुद्ध आर्मीका प्रशिक्षक नविन न्यौपाने सशंकित छन् । उनी कुनै पनि हालतमा सगरमाथाका खेलाडीहरुलाई रोकेर उपाधि आफ्नो पक्षमा राख्न चाहन्छन् । सगरमाथाले थ्रीस्टारबाट ३ जना, एपिएफ र सातदोबाटोबाट ३÷३ जना र च्यासलबाट २ जना, बिग्रेड ब्वाईजबाट खेलाडीलाई मैदानमा उतारेको थियो ।

अशोक खवासका कप्तानीमा रहेको सगरमाथाको पोष्ट प्रिसोले सम्हाल्दै गर्दा यान्निक, सिलो, सुशिल राई, हेमन्त थापा मगर, सत्यम शर्मा, आभाष लामिछाने, आशिष लामा, प्रदिप लामा, निशान खड्का लगायतका खेलाडीहरु रहनेछन् । भरत खवासको कप्तानीमा रहने टोलीमा सुमन अर्याल, विकेश कुथु, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, विकाश खवास, गौतम श्रेष्ठ, विवेक बस्नेत, विकाश तामाङ, टेकबहादुर बुढाथोकी, टंक बस्नेत लगायतका खेलाडीहरु हुनेछन् ।