इटहरीः चैत महिनाको पहिलो हप्ता मोरङको लेटाङमा भएको झडपमा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको पोष्टमार्टम रिपोर्ट आएको छ ।

आफ्नै विद्यालयकी विद्यार्थीलाई जवरजस्ती गर्न खोज्ने शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोली र गाउँलेबिच भएको झडपमा मृत्यु भएकी उर्मिलाको अहिले सम्म धारिलो हतियार प्रयोग गरी हत्या गरिएको भनिदै आएपनि उनको शरिरबाट गोलिसमेत निकालिएको भन्ने खबर बाहिर आएको हो ।

हिंसात्मक झडपमा ज्यान गुमाएकी उर्मिलाको मृत्यु गोली लागेर भएको पोष्टमार्टम रिपोर्ट आएको भन्दै सरकारी वकिल कार्यालयले अभियोग पत्र बनाएको छ । अभियोग पत्रमा उल्लेख भएको पोष्टमार्टम रिपोर्ट अनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा मुढा नभएर गोली लागेर हत्या भएको भनिएको छ ।

चैत्र ६ गते हत्या गरिएकी उर्मिलाको विराटनगरस्थित कोशी अस्पतालमा पोष्टमार्टम गरिएको थियो । घटना भएको दिन प्रहरीको तर्फबाट ३ वटा हवाई फायर गरिएको भएता पनि उर्मिलाको शरिरबाट निकाएको गोली प्रहरीबाट प्रहार नभई गाउँलेकै तर्फबाट प्रहार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरी बताउँछ । यद्यपि गोलि प्रहार भएको हतियार भने अहिले सम्म बरामद भएको छैन ।

परिक्षणका क्रममा गोलि प्रहरीको गोलीसँग म्याच नभएकाले गाउँलेबाटै प्रहार भएको हुनसक्ने आशंका बढेको प्रहरी स्रोतको भएता पनि हतियार बरामद हुन भने नसकेको बताइन्छ ।
उक्त घटनामा प्रहरीले ६३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई केहिलाई कर्तव्य ज्यान मुद्धामा र केहिलाई अभद्र व्यावहारको मुद्धा दायर गरिएको बताइएको छ । केहि स्कुले बालबालिका समेत रहेको बताइएको छ । बालबालिकाहरुलाई अनुसन्धानपछि प्रहरीले अभिभावकहरुको जिम्मा लगाएको छ ।