इटहरीः बंङ्गुर बिक्रिमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको तरहरामा रहेको कृषि अनुसन्धान केन्द्रका पुर्व वरिष्ठ वैज्ञानिक अवकाश प्राप्त रामदेव पण्डित सहित ७ जनालाई विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ ।

अनिमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्षेत्रीय अनुसनधान केन्द्र बंङ्गुर अनुसन्धान इकाईमा इकाई प्रमुखको रुपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरु शकुन्तला राई, प्रकाश कुमार यादव लेखा अधिकृत सोभितलाल यादव र तिलक राजबंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्ण प्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरि कृष्ण श्रेष्ठको समेत मिलेमतोमा बंङ्गुर बिक्रि गर्दा हुनुपर्ने तौल भन्दा कम तौल देखाएर बिक्रि गरेको र ७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनिहरुलाई मंगलबार बिशेष अदालत काठमाण्डौमा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारले तत्कालीन इकाई प्रमुख वरिष्ठ वैज्ञानिक हाल अबकाश प्राप्त रामदेव पण्डितलाई ७ लाख रुपैयाँ बिगो सहित भष्ट्राचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेकालेले हानी नोक्सानी गरेको बिगो सहित निजबाट असुल उपर हुनेगरी माग दावी गरी मुद्धा दर्ता गरिएको छ । प्राविधिक अधिकृत शकुन्तला राईलाई ६ लाख ३१ हजार २ सय बिगो र भ्रष्ट्राचार निवारण ऐन अनुसारको सजाय माग दावी गरीएको छ । अधिकृत राई तत्कालिन क्षेत्रीय अनुसन्धान केन्द्र तरहरा, सुनसरीको बंगुर अनुसन्धान इकाईमा कार्यरत थिइन भने हाल बंङ्गुर अनुसन्धान कार्यक्रम पाख्रिबास धनकुटामा कार्यरत छिन् ।

यसैगरी अर्का प्राविधिक सहायक प्रकाश कुमार यादवलाई ३ लाख ३८ हजार २ सय ४० रुपैया विगो माग गरिएको छ । यादव कृषि अनुसन्धान निर्देशनालय प्रदेश १ तरहरामा कार्यरत छन् । उता तत्कालित क्षेत्रिय अनुसन्धान केन्द्र तरहरामा कार्यरत वरिष्ठ वैज्ञानिक हरिकृष्ण श्रेष्ठलाई ३ लाख ५२ हजार ४ सय ८० रुपैँया विगो माग गर्दै अभियोग पत्र दायर गरिएको छ । श्रेष्ठ हाल कृषि अनुसन्धान प्रतिष्ठान खुमलटार ललितपुरमा कार्यरत छन् ।

बंङ्गुर बेच्नका लागि प्रयोग गरिने कुलिङ्ग कार्डमा हस्ताक्षर गर्ने लेखा अधिकृत हरु पनि कारबाहिमा पर्ने भएका छन् । लेखा अधिकृत सोभितलाल यादवलाई ३ लाख १८ हजार ७ सय २० रुपैयाँ बिगो मागिएको छ । उनि तरहरामै कार्यरत छन् भने अर्का लेखा अधिकृत तिलक राजवंशीलाई ३ लाख १० हजार २ सय ४० रुपैया बिगो माग गरिएको छ । उनिहरुले बंङ्गुर बेच्दा बंगुरमा हुनुपर्ने औषत तौल भन्दा क मतौल देखाई आफुलाई फाइदा र नेपाल सरकारलाई घाटा गराएर बंङ्गुर बिक्रि गरेका थिए । राजवंशी हाल पाख्रिबास धनकुटामा कार्यरत छन् ।

उता सोही काण्डमा मुछिएका प्रशासकीय अधिकृत स्टोरकिपर कृष्ण प्रसाद पोखरेललाई ७ लाख बिगो माग गरिएको छ । पोखरेल हाल कृषि अनुसन्धान निर्देशनालय प्रदेश १ तरहरा सुनसरीमा कार्यरत छन् । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्धारा जारी गरिएको अभियोग पत्रमा उक्त माग दावी खुलाइएको हो ।