इटहरीः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको श्री प्राविका पुर्व प्रद्यानाध्यापक सिद्धिनाथ लाल दास लगायतले चपडाही आधारभूत विद्यालय, हरिनगरा, सुनसरीको बैँक खातामा किर्ते गरी रकम निकालेको अभियोगमा बैँकका तत्कालिन प्रमुख सहित ३ जनालाई अख्यितारले विशेष अदालत काठमाण्डौमा बिगो दावी सहित आरोप पत्र दायर गरेको छ ।

प्रधानाध्यापकसमेतले विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने व्यहोराको उजुरीमा अनुसन्धान हुँदा श्री प्राथमिक विद्यालय नरसिंह –५ सुनसरीका पूर्व प्रधानाध्यपक (हाल अवकास प्राप्त ) सिद्धिनाथ लाल दास र महाविर प्राथमिक विद्यालय, वविया गाउँ विकाश समिति वडा नम्वर –९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हाल सेवामा नरहेका) मनोज कुमार चौधरीले राष्ट्रिय बाणिज्य बैँक इनरुवाका तत्कालिन प्रमुख तारणी प्रसाद खतिवडासँगको मिलेमतोमा ५ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो ।

अनुसन्धानका क्रममा अख्तियारले जिल्ला शिक्षा कार्यालय सुनसरी ईनरुवाको लेटरप्याड, छाप तथा दस्तखत किर्ते गरी हेरफेर गर्नुका साथै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय इनरुवाबाट दस्तखत नमुना कार्ड नै परिवर्तन गरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा, हरिनगरा गाउँपालिका –१, सुनसरीमा रहेको सोही बैंकको खातामा साविकको खाता सञ्चालकहरु प्रधानाध्यापक र शिक्षिकाको नाम हटाएर अर्के नाम राखि बिद्यालयको खाताको रकम निकाशा गरेका थिए ।

सिद्धिनाथ लाल दास, मनोज कुमार चौधरी र बैँकका प्रमुख तारिणि प्रसाद खतिवडाले विद्यालयको ५ लाख ६० हजार रुपैया निकाली हिनामिना गरेका थिए । अख्तियार ले आरोपी दुवै शिक्षकले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको साथै प्रतिवादी तारणी प्रसाद खतिवडाले आफ्नो ओहदाको कर्तव्य पालना गर्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको भन्दै कानुन वमोजिम सजाय गरी हिनामिना÷हानि नोक्सानी भएको विगो बमोजिम जफत तथा असुल उपरगरी चपडाही निम्न माध्यमिक विद्यालय रामनगर भुटाहा, हरिनगरा गाउँपालिका –१, सुनसरीलाई दिलाई भराई दिने माग दावी गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, शखा कार्यालय, ईनरुवा, सुनसरीका सहायक प्रबन्धक (हाल निलम्बित) तारणी प्रसाद खतिवडा एक राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत रहँदा जिम्मेवारी बहन नगरी भ्रष्ट्राचारीलाई सहयोग गरेको भन्दै निकासा गरिएको ५ लाख ६० हजार बरारको बिगो माग दावी गरि कानुन बमोजिम सजाय गर्न बिशेष अदालतमा अख्तियारले माग गरेको छ ।