इटहरीः इटहरीमा गत महिना हिमाल सुरक्षा परिषद्को नाममा भएको बम बिष्फोटन र झापाको दमकमा राखिएको बिष्फोटनजन्य सामाग्रीको अनुसन्धानमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै दुई जना प्रहरीलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर दरबन्दी भई आरआइटी समुहमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी हवल्दार गुणराज अधिकारीलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

पुरस्कृत प्रहरीद्धयले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै ‘वेष्ट पोलिस अफ द मन्थ’ घोषणा गरिएको प्रदेश प्रहरी कार्यलय विराटनगरले बताएको छ ।

विराटनगर दरबन्दी भएका असई ज्ञानु खड्काले गत चैत्र १४ गते राती सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं २ स्थित अमित श्रेष्ठको घर कोठामा अन्यत्र बिष्फोटन गराउने उदेश्यले बिष्फोटक पदार्थ लुकाई छिपाई राखेको अवस्थामा बिष्फोट भएको घटना सम्बन्धमा अनुसन्धानबाट खुलेका मुख्य योजनाकार तथा संलग्न व्यक्तिहरुको पहिचान गरी निजहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

अधिकारीले गत माघ ९ गते गते झापा जिल्लाको विर्तामोड बस स्टेण्डमा, १३ गते झापा जिल्लाको दमक शिवान चर्चमा “हिमाल सुरक्षा परिषद” का पर्चाहरु सहित सर्वसाधारणलाई त्रसित बनाउन बिष्फोटक पदार्थ प्रेशर कुकर बम काण्डको अनुसन्धानमा महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरीको विश्वास छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।