इटहरीः नेकपा एमालेसँग बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

हरेक बजेट भाषणमा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिने र रोग लागेर उपचार भन्दा रोग लाग्न नदिने जनस्वास्थ्यका मापदण्ड लागु गर्ने काम स्थानीय सरकारले प्राथमिकताका साथ गर्ने उल्लेख गर्दै नेकपा एसले मंगलबार आफ्नो पार्टीको घोषणा पत्र सार्वजनिक गरेको हो ।

सीपमूलक, प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखीने भन्दै नेकपा एसले दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ अवधारणाअनुसार प्राविधिक शिक्षामा जोड दिइने उल्लेख गरेको छ ।

प्राविधिक जनशक्ति उत्पादनका लागि अल्पकालीन र मध्यकालीन अभिमुखीकरण र तालिमका लागि साधनसम्पन्न तालिम केन्द्रहरू स्थापना गरिने भनिएको छ । हरेक घरपरिवारमा स्वच्छ खानेपानी पु¥याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने उल्लेख छ।

स्थानीय सरकारमार्फत् हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विधुत महसुलमा छुट दिइने भनेर सार्वजनिक गरेको भएता पनि ३०० युनिट विजुली निशुल्क दिने घोषणा नेकपा एसका नेताहरुले गरेका छन् ।

किसानहरूको उत्पादनमा समर्थन मूल्य कायम गरी मूल्य नपाएर उत्पादन खेर जाने स्थितिको अन्त्य गर्न निश्चित सीमा तोकेर त्यसभन्दा कम बजार मूल्य भएमा पालिकाले नै खरीद गरिदिने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।