धरान/ मंगलबार बिहानै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जिओपिडी भवनमा सर्वसाधारणहरू ओपिडी जाँचको पूर्जी काट्न लामबद्ध भएका थिए । बिहान ८ बजेदेखि काउण्टर खुलेर ओपिडी कार्ड बाँडिनुपर्ने थियो । तर, शुरु भएको केही क्षणमा नै बन्द भयो ।

घण्टौं लाममा उभिएका सर्वसाधारणहरू आक्रोशित बने । ओपिडीको पूर्जीको लागि टोकन सिस्टम लागू थियो, त्यो पनि बन्द भयो । मंगलबार बिहान अस्पताल प्रशासन परिसरमा निकै तनावपूर्ण स्थिति बन्यो । प्रतिष्ठानको इन्टरनेट सर्भर डाउन भएर ओपिडी बिल काउण्टर सञ्चालन हुन सकेको थिएन । त्यसले गर्दा घण्टौं लाममा उभिएका बिरामीका आफन्तहरूले समयमा पूर्जी नपाएको भन्दै आक्रोशित भएर होहल्ला मच्चाएका थिए । उनीहरूलाई नियन्त्रणमा लिन सेक्युरिटी गार्डहरूलाई निकै हम्मे परेको थियो । पूर्जी काट्न गएका बिरामीका आफन्तहरूका अनुसार इन्टरनेट सर्भर (सिस्टम) डाउन भएकाले कम्प्युटर नचलेर पूर्जी काट्न ढिलाइ भएको जवाफ दिएपछि भीड आक्रोशित बनेको थियो । उनीहरूले अस्पताल निर्देशकको कार्यकक्षमा पुगेर होहल्लासमेत गरे ।

कम्प्युटर शाखा मातहतको इन्टरनेट सर्भरमा करिब २ महिना अघिदेखि समस्या देखिएको थियो । शाखाले समयमा नै यसको मर्मत वा सुधार गर्न नसक्दा अहिले छिनछिनमा सर्भरमा समस्या हुन थालेको प्रतिष्ठानका कर्मचारीहरू बताउँछन् । यस शाखाका इञ्चार्ज राकेश दास हुन् । उनी पूर्व उपकुलपति डा.बीपी दासका सहोदर भतिज हुन् । काका भतिजको षड्यन्त्रमा वर्तमान अस्पताल व्यवस्थापनलाई अप्ठ्यारोमा पार्न सर्भरमा समस्या गराएको पनि प्रतिष्ठानका कर्मचारीहरूको आरोप छ । ‘यो सुनियोजित भएको हुन सक्छ, जनताले यत्रो दुःख पाइराखेको छ । समस्या थियो भने समयमै किन समाधान गरिएन ?,’ कर्मचारी कल्याण समाज तदर्थ समितिका संयोजक राजन कोइराला भन्छन्, ‘यसबारेमा अस्पताल प्रशासनले छानबिन गरेर सत्यतथ्य निकाल्नु पर्छ ।’

प्रतिष्ठानको अतिव्यस्त समयमा पर्ने बिहान ८ देखि १२ बजेसम्म विगत ३ दिनदेखि छिनछिनमा सर्भर डाउन हुन थालेको छ । यो समयमा कम्प्युटर रिस्टार्ट हुने गरेको छ । कम्प्युटर रिस्टार्ट हुन कम्तीमा २२ मिनेट समय लाग्ने काउण्टरमा बसेका कर्मचारीहरू बताउँछन् । यसले समयमा उपचार नपाउँदा बिरामी र आफन्त आक्रोशित हुने ती कर्मचारीको भनाइ छ । सर्भरमा समस्या भएपछि ओपिडी पूर्जी काट्न पुगेकाहरूलाई मात्र होइन, विभिन्न जाँच गराएकाहरूको ल्याबको रिपोर्टमा पनि ढिलाइ भएको थियो । बिहान ८ बजे हातमा पर्ने रिपोर्ट मंगलबार साढे १० बजिसक्दा पनि पाएका थिएनन् । अस्पताल प्रशासनका डेपुटी मेनेजर सागर ताम्राकारले सर्भरको समस्याबारे अस्पताल प्रशासन गम्भीर भएको भन्दै चाँडै सर्भर फर्ने प्रक्रियामा रहेको बताए ।

कसैले नियतवश समस्या गराएको भए छानबिन गरेर कारबाही हुने पनि उनले खुलाए । ‘गम्भीर रूपमा लिएका छौं । जनताले समस्या भोगिरहेका छन् । कसैले नियतवश गराएको भए छानबिनबाट त्यस्तो पाए कारबाही हुन्छ,’ उनले भने, ‘एक्स्पर्टलाई सर्भर देखाउने कुरा पनि चलिरहेको छ ।’

उता, कम्प्युटर शाखाका इञ्चार्ज दास भने एक साता एसी बिग्रिएको र सर्भरलाई चिसो बनाइराख्नु पर्नेमा ओभरहिट भएर समस्या भएको दाबी गर्छन् । ‘कसैले पनि बिगार्ने कुरा हुँदैन । एसी बिग्रिएपछि सर्भर ओभर हिट भएर रिस्टार्ट हुने समस्या आयो,’ दासले भने, ‘हामीले डेढ महिनाअघि अस्पताल प्रशासनमा लिखित रूपमा भनेका थियौं । यहाँको प्रक्रिया नै लामो भएकाले समस्या भएको हो ।’