इटहरीः आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको सवारी जाँचमा ट्राफिक प्रहरीले १ नम्बर प्रदेशमा ७ सय ५८ वटा सवारी साधनका चालकमाथि कारवाही गरेको छ । अघिल्लो दिन ७ सय ४२ वटा सवारी साधनलाई ट्राफिकले कारवाही गरेको थियो ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट ती सवारी साधनका चालकमाथि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

सो कार्यालयले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३५ जना, मोटरसाइकलमा ३ जना चढेर यात्रा गर्ने १३ जना, बिना हेल्मेट मोटरसाइकल चलाउने १३ जना र क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८६ जनालाई कारवाही गरिएको हो ।

त्यस्तै, सवारी चालक अनुमति पत्र नभएका ४१ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिने २५ जना, जथाभावी पार्किङ गर्ने ५७ जना, रोक्न निषेध गरिएको ठाउँमा सवारी साधन रोक्ने २५ जना, पार्किङ निषेधमा सवारी साधन पार्किङ गर्ने १४ जना ट्राफिक कारवाहीमा परेका छन् ।

सुरक्षा पेटी नबाँधी सवारी चलाउने ३३ जना, कागज पत्र साथमा नराख्ने १ सय ७६ जना, सवारी साधनको बत्तीको अवस्था ठीक नभएको सवारी चलाउने २४ जना र हर्न निषेधमा हर्न बजाउने ३ जनालाई पनि ट्राफिकले कारवाही गरेको छ ।

तीव्र गतिमा सवारी चलाउने ६ जना, ढोका खुला गरी यात्रुवाहक सवारी साधन चलाउने ३२ जना, हदभन्दा बढी मालसामान ढुवानी गर्ने ३० जना र लापरवाही साथ सवारी साधन चलाउने १ सय ४९ जना गरी जम्मा ७ सय ५८ जना सवारी चालक ट्राफिक कारवाहीमा परेको कार्यालयले जनाएको हो ।