इटहरीः ओखलढुङ्गाका हंशराज वाग्लेको पहिचान एउटमा मात्र सिमित छैन् । कसैले उनलाई राजनितिकर्मीको रुपमा चिन्छन् कसैले बैदेशिक रोजगार व्यवसायीका रुपमा । प्रदेश नम्बर एकको खेलकुद बोर्डका सदस्य सचिव भएको हिसावले उनी खेलकुदकर्मी समेत हुन् ।

नेकपा एकिकृत समाजवादी ओखलढुङ्गाका अध्यक्ष समेत रहेका वाग्लेलाई चिन्नै पर्ने पहिचान भनेको उनी नेपालको अन्तराष्ट्रिय खेलाडी समेत हुन् । नेपालको राष्ट्रिय खेल भलिबलको प्रतिनिधित्व गर्दै उनले लामो समय नेपालको टिमबाट खेले । खेलाडी पृष्ठभुमीको पाना पल्टाउँदै जाँदा विरेन्द्र शिल्डबाट भलिबललाई माया गरेका वाग्ले जिल्ला, अञ्चल हुँदै २०४८ सालमा १९ बर्षको उमेरमा नेपालको भलिबल टोलीमा समेटिए ।

भलिबल टिममा छनौट भएको १ बर्षपछि बंगलादेशमा भएको प्रतियोगिताबाट नेपाली राष्ट्रिय टोलीबाट डेव्यु गरे । टिनएजमा नै राष्ट्रिय टोलीबाट खेलेका कारण उनलाई नेपालका विभिन्न क्लबहरुले अवसर समेत दिए । जावलाखेल लगायत केही क्लबबाट खेलेका उनलाई स्थायी रुपमा भने महेन्द्र पुलिस क्लब (हाल नेपाल पुलिस क्लब) ले अवसर दियो । ५ बर्ष पुलिस टिममा उपकप्तान रहँदा धेरै जसो प्रतियोगितामा उनको टिमले गोल्डमेडल जित्न सफल रहयो ।

उनको खेलाडी करियर समेत रोचक छ । ४० र ५० को दशक ताका नेपालमा भलिबलको क्रेजले उचाई लिँदा वाग्लेले विभिन्न क्याम्पसबाट खेल्ने अवसर पाए । ‘खेलाडीको रुपमा सम्झदा गौरव लाग्छ । भलिबल खेल्दा खेल्दै एडमिसन गरेको क्याम्पस १९ बटा पुगेछ ।’ वाग्लेले भने ‘ युवा जोश जुन क्याम्पसबाट अफर आयो एडमिसन गरेर खेलिन्थ्यो । नेपालको सिन्धुपाल्चोक, धादिङ, म्याग्दी, बाग्लुङ, पोखराका प्राय क्लबबाट खेलियो । नेपालका धेरै ठाउँ भलिबलबाटै घुमेको छु । ’ ५ बर्ष पुलिसका खेलाडी भएपछि उनको मन प्रशिक्षण तिर मोडियो ।

IMG_0129

उनी राष्ट्रिय खेलकुद परिषदको स्थायी प्रशिक्षक समेत बने । खेलाडी कम कोच ज्यादा हुँदै उनको खेलकुद करियर दोश्रो इनिङमा प्रवेश भयो । प्रशिक्षक करियरलाई समेत विट मार्दै उनले तेश्रो इनिङ व्यवसायी बने । ‘धेरै पटक विदेशमा समेत खेलियो । विदेशमा बिजय हासिल गर्न सकिएन् । हामी खेलाडी राम्रो थियौ सुविधा राम्रो थिएन् । त्यसपछि खेलकुद छाडेर व्यवसाय रोज्न पुगे ।’ इटहरी रंगशालामा भेटिए उनले सुनाए ।

करिब डेढ दशक भलिबलमा विभिन्न भुमिका निर्वाह गर्दै नेतृत्वमा पुग्ने उनको चाहना थियो । २०६४ सालमा नेपाल भलिबल संघको नयाँ नेतृत्व चयनका लागि होमिए उनको प्यानलबाट उठेका सवैले जित्दा रणबहादुर थापासंग २ मतले पराजित बन्न पुगे । त्यसपछि खेलकुदबाट वितृष्णा जागेर व्यवसाय थालेको उनले सुनाए । ‘ मेरो प्यानलबाट उठेका सवैले जित्दा मैले मात्र हार्न पुगे । खेलकुदमा केही गर्ने लक्ष्य थियो त्यो बेला म हारेर मेरो टिम जितेको थियो त्यसले अहिले भलिबल संघ चलाइरहेको छ । उहाँहरु नै माथिल्लो ठाउँमा पुगेर भलिबललाई राष्ट्रिय खेल बनाउनुभयो ।’ वाग्ले र नेपाली भलिबललाई २ दशक भन्दा लामो समय कप्तानी गरेका भरत शाह नेपाल पुलिसमा प्रवेश एकै दिन थियो । अहिले शाह भलिबलको माध्यमबाट नेपाल पुलिसमा डिएसपी बनेका छन् ।

सदस्य सचिव बनेपछिका योजनाः खेलाडी विमा देखि कर्पोरेट हाउसको इन्ट्री

खेलकुद छाडेर बैदेशिक रोजगार व्यवसायी बनेका वाग्लेको खेलकुद मोहलाई सम्मान गर्दै प्रदेश सरकारले अहिले सदस्य सचिव बनाएपछि उनी उत्साहित छन् । इटहरीमा भेटिएका उनले आफ्ना गौरवका योजनाहरु सुनाए । ‘चरम राजनितिक भएको ठाउँ हो काम गर्ने वातावरण कति हून्छ तथापी प्रदेशको बोर्डमा मन्त्रीहरुलाई स्पष्ट भनिदिएको छु । अरुको जस्तो सेवा चाकरी गर्ने भन्दा काम गर्नेछु पुर्ण सहयोग चाहिन्छ । मुख्यमन्त्री र खेलकुद मन्त्री खेलकुद बुझेको उर्जाशिल भएकाले केही निर्णय गर्ने आश छ ।’ उनी खेलकुद क्षेत्रलाई चलायनमान बनाउन खेलाडी प्रोत्साहित गर्नुपर्ने बताउँछन् । ‘सवै भन्दा पहिलो खेलाडीलाई प्रोत्साहित गर्नुपर्छ । खेलाडीले कसरी जिविकापार्जन गर्न सक्छ र खेलाडी बाँच्ने आधार के हो । पुरस्कार दिएर २ दिन राखेर खेलाडी अघि बढ्न सक्दैन् । ग्रासरुट बाटै प्रोत्साहित गरेर अघि बढ्नुपर्छ भनेर लागेको छु । ’

उनले खेलकुदमय प्रदेश १ बनाउने योजना साथ अघि बढेकाले सवैको सकारात्मक अपेक्षा राखेको बताए । वाग्लेले सरकारको मात्र मुख नताकेर नीजि क्षेत्रलाई समेत खेलकुदमा आर्कषित गर्नुपर्ने बताउँछन् । ‘ खेलाडीहरुलाई विशेष ब्रान्डसंग जोडेर लग्नुपर्छ । विदेशमा हेरौ त खेलाडीहरु खेलेर भन्दा पनि विभिन्न ब्रान्डका एम्बेसेडर बनेर धेरै कमाउँछन् । हाम्रो देशमा पनि नीजि क्षेत्रलाई खेलकुदमा जोडेर लग्न सके खेलाडी व्यवसायिक बन्न सक्छन् ।’

IMG_0107

उनले तत्कालै नेपालको राष्ट्रिय एवम अन्तराष्ट्रिय खेलकुदमा सहभागि खेलाडीहरुको योगदानलाई उच्च सम्मान गर्ने योजना रहेको सुनाए । ‘ प्रदेश १ का खेलाडीहरुलाई उर्जाशिल बनाएर खेलकुदमय १ नम्बर प्रदेश बनाउने लक्ष्य । मेरो योजनामा के बनाएको छु भने १ नम्बर प्रदेशका को को खेलाडी विदेशमा खेल, मेडल ल्याए । ती मान्छे को चाहि कहाँ जाड खाएर बसेका छन् पिडा छन् । उनीहरुलाई सकेसम्मको सम्मान दिने हो ।’ वाग्लेले भने ‘उनीहरुलाई केहि दिन भित्रमै सम्मान गरिनेछ । तत्काल राष्ट्रियलाई नसकिएपनि अन्तराष्ट्रिय खेलमा सहभागिता जनाएकाहरुलाई इटहरीमा बोलाएर आर्थिक सहित सम्मान गरेर तपाईहरुको उर्जालाई मर्न दिँदैनौ सम्झिन्छौ भन्ने वातावरण बनाउने तयारी गर्दैछु ।’

खेलाडीहरुको इन्जुरीका कारण पनि अपेक्षा अनुसार प्रर्दशन गर्न नसकेको बताउँदै इन्स्योरेन्स र स्वास्थ्य उपचारको लागि सहकार्यको कार्यक्रम अघि बढाइएको बताए । ‘खेलाडीको इन्सुरेन्स छैन् । खेलुन्जेल खेल्यो त्यसपछि उसको शारिरिक अवस्था र आर्थिक अवस्था कमजोर हुन्छ । खेलुन्जेललाई मात्र खेलाडी हैन् । व्यवसायिक करियरपछि पनि उनीहरुले खेलकुदकर्मी भन्ने वातावरण बन्नुपर्छ ।’ वाग्लेले भने ‘इन्जर्ड भएर लड्यो २÷३ दिन क्लबले व्यहोर्छ त्यसपछि परिवारले व्यहोर्नुपर्छ । खेलाडीलाई इन्सुरेन्समा प्रदेशले केहि सहयोग गरोस निजि क्षेत्रलाई ल्याएर पनि इन्सुरेन्स गर्न तयार छौ ।’

उनले विराटनगरमा रहेको नोबल मेडिकल कलेज र विराट मेडिकल कलेजसंग खेलाडीको सहुलियत उपचारको लागि छलफल अघि बढाउने बताए । वाग्लेले खेलाडीहरुको स्तर अनुसार छुटको लागि पहल गर्ने बताए । ‘राष्ट्रिय स्तरका लागि शतप्रतिशत गर्न नसकिएपनि केही प्रतिशत छुट गराउने प्रयास छ । त्यती मात्र हैन खेलाडीको परिवारलाई समेत उपचारमा छुटको प्रयास गर्नेछु ।’

अन्तराष्ट्रिय खेलमा मेडल ल्याएकाहरुलाई निःशुल्क उपचारका लागि सरकारले नीति बनाउनुपर्ने उनको जोड छ । यातायातमा समेत खेलाडीहरुको छुटका लागि व्यवसायीहरुसंग तत्काल छलफल अघि बढाइने उनले बताए । खेलाडीहरुले रंगशाला प्रवेशमा उनीहरुको योगदानको मुल्याकन हुन नसकेकाले प्रदेशबाट पहिचानको लागि परिचयपत्र कार्ड उपलब्ध गराउन कार्य तत्काल लागु गरिने वाग्लेले बताए । ‘अन्तराष्ट्रिय खेलमा सहभागि खेलाडी रंगशाला छिर्न पनि सामान्य दर्शकले जस्तो टिकट काट्नुपर्छ उनीहरुले यत्रो बर्ष देशलाई दिएको योगदानको मुल्यांकन के भयो र ?’ उनले प्रश्न गरे

उनले प्रदेशभरका सवै रंगशालामा खेलाडीहरुको लागि सिट छुट्याएर परिचयपत्रका आधारमा प्रवेश सहज बनाइने बताए । ‘मेरो कार्यकालमा प्रत्येक रंगशालामा भिआइपी बस्ने नजिकै खेलाडीलाई सिट छुट्याउने व्यवस्था हून्छ । त्यसपछि विशेष कार्ड दिएर रंगशालामा सम्मानका साथ भिआइपी छिर्नेबाट छिर्न पाउने तत्कालै लागु गर्दैछु ।’ उनले नेताहरुले जस्तो अन्तराष्ट्रिय खेलमा सहभागि खेलाडीहरुले भिआइपी कक्ष प्रयोगका बारेमा नागरिक उड्ययन प्राधिकरणसंग पहल गरेको बताए । ‘ खेलाडीहरुले भिआइपीले जस्तो सुविधा पाउन सके उनीहरुको आत्मसम्मान बलियो हुन्थ्यो ।’

IMG_0105

उनले आफु कर्मचारी जस्तो जागिर खानका लागि नआएकाले खेलकुद र खेलाडीको निम्ति अन्य गौरवका योजनाहरु ल्याउने बताए । ‘ कर्मचारीको जागिर जस्तो सेवा सुविधा पाउन सदस्य सचिव चाहिएको हैन् । खेलकुदको प्रदेशमा १/२ महिनाभित्र कायापलट हुने निर्णय गर्नेछु । काम नगर्ने कर्मचारी, प्रशिक्षकलाई वर्खास्त गरेर बर्षो देखि करारमा नरहेका उर्जा भएकालाई नियुक्ती गराएर पारिवारिक वातावरण देखि नै खेलकुदमा इच्छा बनाउने योजनाका साथ यहाँ छु ।’
उनले खेलाडी पलायन बारे आफु चिन्तित रहेको सुनाए ।

खेलाडी पलायन रोक्नका लागि खेलकुदबाट बाँच्ने बातावरण बनाउन तीनै तहका सरकारविच समन्वय हुनुपर्ने बताउँछन् ‘खेलाडी पलायनको क्रममा मेरो ब्याचको १२ जनामा १० जना बाहिर छन् । एक जना वित्नुभयो एक जना म यहाँ छु । कोही मकाउ कोही सेक्युरेटी गार्डमा छन् ।

पलायन रोक्न राष्ट्रिय एवम अन्तराष्ट्रिय सहभागिता जनाएक खेलाडीहरुको जिम्मा सरकारले लिनुपर्ने बताउँछन् । ‘ विदेश टिम सामाजिक सुरक्षा भन्छ खेलाडीको परिवारलाई निःशुल्क उपचार हुनुप¥यो छोराछोरीको शिक्षाको जिम्मा लिनुप¥यो । जसले गर्दा उसले परिवारको बोझका कारण खेलकुद छाड्नुपर्दैन् ।’

खेलाडीहरु मानसिक रुपमा अब्बल भए मात्र शारिरिक रुपमा जित्न सक्ने बताउँदै वाग्लेले कर्पोरेट हाउसहरुले खेलाडीहरुलाई निश्चित पारिश्रमिक दिएर ब्रान्ड एम्बासेडर बनाउनुपर्ने बताउँछन् । ‘ सरकारबाट मात्रै सवै सम्भव नहोला । यति धेरुै बैंकहरु छन्, हाइड्रोपावरहरु छन् व्यवसायिक घरानाहरु छन् उनीहरुले खेलकुद र खेलाडीका लागि ५/७ करोड हालिदिए हून्छ नी’ नीजि क्षेत्रले खेलकुद र खेलाडी जिम्मा लिने वातावरण नबनेसम्म नेपालबाट खेलाडी पलयान हुने क्रम नरोकिने उनी बताउँछन् ।