इटहरीः प्रदेश १ खेलकुद विकास बोर्डले नयाँ कार्यसमिति पाएसँगै सक्रिय भएर खेलकुदका क्षेत्रमा सुधारका प्रयास गर्न थालेको छ ।

नयाँ कार्यसमिति बनेको २ हप्ता पछि बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश एक खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लले बोर्डले अन्तर्राष्ट्रिय खेलाडीको सुविधाका लागि रातो कार्ड वितरण गर्ने तयारी थालेको बताए ।

प्रदेश १ बाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका खेलाडी र पूर्व खेलाडीको सुविधाका लागि बोर्डले रातो कार्ड वितरण गर्ने तयारी थालेको हो ।

वाग्लेले सार्वजनिक क्षेत्रमा सुविधाका लागि रातो कार्ड वितरण गर्न लागिएको बताए । ‘रातो कार्ड पाएका खेलाडीले रङ्गशालाहरूमा प्रवेश निःशुल्क पाउनेछन्, अरू सुविधा पनि पाउनेछन्,’ उनले भने,‘ बढीभन्दा बढी सुविधाका लागि अन्तर्राष्ट्रिय खेलाडीलाई कार्ड दिने तयारीमा छौं ।’

उनले आर्थिक अवस्था कमजोर भएका राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीहरूको उपचचारमा बिमा सुविधा समेत दिने बोर्डको तयारी छ ।

कार्यसमिति बनेको २ हप्तामै १४ वटै जिल्लामा कार्यसमिति गठन गरीसकेको बोर्डले निकट भविष्यमै हुन लागेको नवौँ राष्ट्रिय खेलमा प्रदेशले सहभागिता जनाउने निर्णय गरेको छ । बोर्डले सो प्रतियोगिताका लागि जिल्ला छनौट गर्ने प्रदेश छनोट गर्ने र खेलाडीलाई तालिम तथा क्लोज क्यापको समेत आयोजना गर्ने तयारी थालेको बताएको छ । निकट भविश्यमै बोर्डले १४ वटै जिल्लामा खेलकुद गतिविधि र पुर्वाधार विकासको लागि कार्य योजना बनाउने योजना अघि सारेको छ ।

राष्ट्रिय खेलमा समावेश भएका खेलका प्रदेशका प्रशिक्षकहरुलाई रिफ्रेसर कोर्षको आयोजना गर्ने र प्रदेशबाट अन्तराष्ट्रिय खेलमा सहभागि प्रदेश एकका खेलाडीलाई सम्मान समेत गर्ने खेलकुद विकास बोर्डको योजना रहेको बोर्डले जनाएको छ । बोर्डले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशका विज्ञहरुसँग छलफल गरी अन्य कार्यक्रमहरु अघि सार्ने समेत बताएको छ ।