इनरुवाः आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा सुनसरीमा निर्धारण गरिएको १६६ मतदान केन्द्र मध्ये करिब एक चौथाई मतदान केन्द्र सुरक्षाको हिसावमा अतिसंवेदनशिलको सूचीमा परेका छन् ।

जिल्ला भरीमा ४४ मतदान स्थल अति संवेदनशिल सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यद्यपि उनले निर्वाचन आफैमा संवेदनशिल विषय भएकोले सुरक्षा निकायले १६६ वटै निर्वाचन केन्द्रहरुलाई अति संवेदनशिलको सूचीमा राखेर तयारी गरिएको बताए ।अति संवेदनशिल सूचीमा पर्ने अधिकांश मतदान स्थल भने भारतीय सिमावर्ती क्षेत्र नजिक पर्ने स्थानीय तह भित्रका रहेका छन ।

जसमध्ये सबै भन्दा बढी भोक्राहा नरसिंह गाउँपालिकाको १० मतदान स्थल अति संवेदनशिल मानिएका छन । कोशी र हरिनगर गाउँपालिकामा ९–९ वटा सो सूचीमा परेका छन ।
यस्तै देवानगञ्ज गाउँपालिकामा ७, इनरुवाको ४, दुहवीको ३, गढी र धरानको १–१ वटा मतदान स्थल अति संवेदनशिल मानिएको छ । उक्त सूचीमा इटहरी, बराहक्षेत्र, रामधुनी र बर्जु भने समावेश छैन ।

यता संवेदनशिल मतदान स्थलमा सबैभन्दा बढी इटहरी उपमहानगरभित्रका मतदान स्थल रहेका छन । इटहरीको १७, इनरुवाको ६, गढीको ८, दुहवीको ५, धरानको १३, बराहक्षेत्रको १२, बर्जुको १० र रामधुनीको ९ गरी कुल ८० मतदान स्थललाई संवेदनशिल मानिएको सुनसरी प्रशासनले जनाएको छ ।

निर्वाचन तयारी र संचार माध्यम सम्बन्धि आचारसंहिता विषयक अन्र्तकृयात्मक कार्यक्रमका क्रममा प्रशासनले उपलब्ध गराएको जानकारीअनुसार कुल १ सय ६६ मतदान स्थल मध्ये जिल्ला भित्रका ४२ मतदान स्थल सामान्य छन ।२० वटा वडा रहेको इटहरी उपमहानगरपालिकामा २५ मतदान स्थल तोकिदा मतदान केन्द्रको संख्या १ सय ११ रहेको छ । इनरुवा नगरपालिको १० वडामा गरी १९ मतदान स्थल र ४७ मतदान केन्द्र रहेको छ ।

यसैगरी ८ वटा वडा रहेको कोशी गाउँपालिकामा ९ मतदान स्थल र २९ मतदान केन्द्र तोकिएको छ । कोशीका सबै मतदान स्थल अति संवेदन मानिएका छन । गढी गाउँपालिकाको ६ वडामा गरी ९ मतदान स्थल तोकिएको छ । जहाँ २७ मतदान केन्द्र रहेको छ ।

त्यस्तै १२ वटा वडा रहेको दुहवी नगरपालिकामा ४२ मतदान केन्द्र रहेको छ । देवानगञ्ज गाउँपालिकाको ७ वडाका सबै ७ वटै मतदान स्थल अति संवेदनशिल मानिएको छ । जहाँ २६ वटा मतदान केन्द्र रहेको छ ।

२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा कुल २८ मतदान स्थल रहेको छ । धरानको कुल मतदान केन्द्र संख्या १ सय ७ रहेको छ । बराहक्षेत्र नगरपालिकाको ११ वडामा १६ मतदान स्थल तोकिएको छ । सो पालिकामा ६७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यता बर्जु गाउँपालिको ६ वटा वडामा १० वटा मतदान स्थल राखिएको छ । बर्जुमा २५ मतदान केन्द्र रहेको छ । ८ वटा वडा रहेको भोक्राहा नरसिंह गाउँपालिकामा १० मतदान स्थल तोकिएको छ । २८ मतदान केन्द्र रहेको भोक्राहाका सबै मतदान स्थललाई अति संवेदनशिल मानिएको छ ।

यसैगरी सुनसरीको रामधुनी नगरपालिकाको ९ वटा वडामा जम्मा १२ वटा मतदान स्थल कायम गरिएको छ । रामधुनीमा ४४ मतदान केन्द्र रहेको छ । त्यसैगरी ७ वटा वडा रहेको हरिनगर गाउँपालिकामा ९ मतदान स्थल रहेको छ । २८ वटा मतदान केन्द्र निर्धारण गरिएको हरिनगरको सबै ९ वटै मतदान स्थललाई अति संवेदनशिल मानिएको छ ।
१ सय २४ वटा वडा रहेको सुनसरीको स्थानीय तह तर्फ कुल १ सय ६६ मतदान स्थल तोकिएको छ । जसमा ४४ अति संवेदनशिल, ८० संवेदनशिल, ४२ सामान्य छन । जम्मा मतदान केन्द्रको संख्या भने सुनसरीमा ५ सय ८१ रहेको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मत खसाल्न योग्य नेपाली नागरिकको संख्या ५ लाख ३४ हजार ७ सय ६५ रहेको छ । जसमा महिलाको संख्या २ लाख ६५ हजार ६ सय १७ छ भने पुरुष मतदाताको संख्या २ लाख ६९ हजार १ सय ४६ रहेको छ । तेस्रो लिङ्गी मतदाता भने जम्मा २ जना रहेका छन ।

सुनसरीमा सबैभन्दा बढी मतदाता इटहरीमा रहेका छन । दोस्रो मतदाता बढी भएको स्थानीय तहमा धरान उपमहानगरपालिका रहेको छ । सुनसरीको पालिका मध्ये बर्जु गाउँपालिकामा सबै भन्दा कम मतदाता रहेका छन । निर्वाचन मिति नजिकिएसँगै जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रमलाई अघि बढाइएको सुनसरी प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लामा निर्वाचन लक्षित सुरक्षा रणनीति तयार गरिसकिएको छ । निर्वाचन तालिका अनुसारका कार्यक्रम अघि बढ्ने भएकाले सोही अनुसारको काम कार्वाहीको प्रकृयालाई प्रशासनले अघि बढाउँदै लैजाने प्रजिअ यादवले जानकारी दिए ।