इटहरीः १ नंं प्रदेशको बिभिन्न शहरमा बम बिस्फोट गराई सर्वसाधारणलाई त्रसित बनाउने हिमाल सुरक्षा परिषदका कार्यकर्ता तथा योजनाकारलाई पक्राउ गरि सफल अनुसन्धान गर्ने दुई प्रहरीलाई प्रदेश प्रहरीले अभिलेखमा जानिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरेको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायब निरीक्षक राजेन्द्र चौहानलाई नगद १२ सय र प्रहरी सहायक हबलदार सम्बर बहादुर तिवारीलाई नगद १ हजारले पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत चौहान र इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत तिवारीलाई माघ १० गते झापाको बिर्तामोड बसस्टेण्डमा विस्फोटक पदार्थ राख्ने र चैत्र १४ गते इटहरी २ मा बम बिस्फोट गराउने हिमाल सुरक्षा परिषदका कार्यकर्तालाई पक्राउ गरि कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएको भन्दै दुवैलाई पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी अरुण कुमार बिसीले जानकारी दिए ।

दुवैको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गदै प्रहरी नियमावली २०७१ को नियम ११७ को देहाय (ख)बमोजिम अभिलेखमा नाम दर्ज हुनेछ । यसले दुवैको आन्तरिक मूल्यांकनमा थप सहयोग पुग्ने छ । प्रदेश प्रहरीले पुरस्कृत दुवैको अभिलेख राष्ट्रिय किताबखाना प्रहरी लैनचौर पठाउने छ ।

गत चैत्र १४ गते इटहरीमा ‘मिस हेन्डल’ को कारण भएको बम विस्फोटको घटनामा संलग्न हिमाल सुरक्षा परिषदको मुख्य योजनाकार खगेन्द्र खरेलसहित ४ जनालाई संयुक्त अनुसन्धान टोलीले झापाबाट पक्राउ गर्न सफल भएको थियो । यस अघि झापा प्रहरीले बिर्तामोडमा बम राख्ने ९ जनालाई पक्राउ गरिसकेको छ ।

अपराध अनुसन्धानमा राम्रो अनुभव भएका दुवैजना यस अघि पनि पुलिस अफ द मन्थबाट सम्मानित भइसकेका छन् । भूमिगत सशस्त्र आन्दोलनको घोषणा गरेको दाबी गर्ने हिमाल सुरक्षा परिषदको मुख्य व्यक्ति खगेन्द्र खरेलनै पक्राउ परेपछि अहिले यो संगठनको अस्तित्व सकिएको सुरक्षा निकायको भनाई छ ।