बराहक्षेत्रः नेकपा एमालेको भातृ संस्था अनेरास्ववियु सुनसरी जिल्लाको २२ औं जिल्ला अधिवेशनले नवराज खड्काको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गर्यो ।

सुनसरीका १२ वटा स्थानीयतहलाई समेटेर जिल्ला कमिटी गठन गरिएको भनिएपनि केहि पालिकाहरुको सहभागिता शून्य रहेको छ । आफूलाई जिल्ला कमिटीको कार्यालय सचिवमा चयन गरेको भन्दै अनेरास्ववियु सप्तकोसी बहुमुखी क्याम्पस बराहक्षेत्रका अध्यक्ष सुरज भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘म सुरज भट्टराई अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको कुनै पदमा नरहेको जानकारी गराउँदै कार्यालय सचिवबाट मेरो नाम तुरुन्त हटाइयोस् ।’

अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले ५१ जनाको सदस्यीय जिल्ला कमिटीमा एकजना पनि दलित र मधेसी समुदायका विद्यार्थी नेता अटाउन सकेन । समावेशीताको सिद्धान्तकै उपहांसको रूपमा अनेरास्ववियु अघि बढेको विश्लेषकहरुको बुझाइँ छ ।

कमिटी गठन गर्दैगर्दा दलित र मधेसी समुदायका विद्यार्थी पनि हुन्छन् भन्ने कुरा भुल्नुभाको थियोे भन्ने प्रश्नमा निवर्तमान अध्यक्ष रोशन रेग्मीले कमिटी गठनमा आफू अनबिज्ञ रहेको बताए ।

त्यस्तै, नेपाल उत्पीडित जातिय मुक्ति समाज, सुनसरी जिल्ला अध्यक्ष नारायण परियारले भने यसबारेमा आफूले कडा कदम चाल्ने बताएका छन् । प्रदेशपोर्टलसँगको कुराकानीमा उनले भनेका छन्, ‘यत्तिका दलित विद्यार्थी साथीहरूलाई वेवास्ता गरेर अनेरास्ववियु सुनसरी जिल्ला कमिटीले पेल्न खोजेको छभने यसबारे सुझबुझ गरेर भत्सर्ना गरिन्छ । उनले दलित सहभागिता मात्र नभएर समावेशी सहभागितालाई अनेरास्ववियुले वेवास्ता गर्न नहुने बताउँदै यस्तो एकलौटीतन्त्रको विरुद्ध आवाज उठाउने जिकिर गरेका छन् ।

यता, नवगठित समितिका अध्यक्ष नवराज खड्काले भनेका छन्, ‘हो, अहिले विशेष परिस्थितिमा यस् समितिको गठन भएकोले मधेसी र दलित साथीहरूलाई अटाउन नसकिएकै हो ।’ उनले थपे, ‘हाम्रो बिधानअनुसार १० प्रतिशतलाई मनोनयन गरेर समितिलाई पूर्णता दिनेगरी व्यवस्था छ, अब मनोनीत गरेर मिलाउँछौ ।’ समावेशीताको मात्र नभएर भेगिय समावेशीता समेत पूरा गर्न नसकेको उनको स्विकारोक्ती रहेको छ ।