इटहरीः जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठको शव शंकास्पद अवस्थामा भेटिएको छ । पाँचथरको कुम्मायक गाउँपालिका १ ओर्दिन भन्ने स्थानको भीरमा अडकिएको अवस्थामा श्रेष्ठको शव आइतबार भेटिएको हो ।

शव सड्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी राकेश थापाले जानकारी दिए ।यासोक बजारमा लाग्ने त्रिसाली मेलामा सुरक्षार्थ खटिएका श्रेष्ठ वैशाख ३ गतेदेखि बेपत्ता थिए । ड्युटी समयमै यासोक बजारबाट हराएका उनको खोजी प्रहरीले गरिरहेको थियो ।

आइतबार बाटो नजिकै मोबाइल सेट फेला पारेपछि स्थानीयले आसपासमा हेर्दा प्रहरीको बर्दी लगाएका व्यक्तिको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मृतक प्रहरीको परिवार आएर सनाखत गरिसकेको बताइएको छ ।

डीएसपी थापाका अनुसार शव निकालेर पोस्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी गरिएको छ ।